बालिका बलात्कार : पैसा दिएर गाउँमै मिलाउन खोजिएको घटना दुई सातापछि सार्वजनिक 

धनगढी । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ का २९ बर्षिय दिपेन्द्र चौधरी (कुश्मि) लाई ११ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।

३२ जेठमा बालिकाको बलात्कार भएपनि राजनीतिक दबाबका कारण घटना गाउँमै मिलाउने प्रयास भएको स्रोतले बताएको छ ।
 
प्रहरी अथवा बाहिर घटना सार्वजनिक नगर्नु बरु पैसा कति चाहिन्छ हामी दिन्छौं, यदि प्रहरीलाई भनेको खण्डमा राम्रो हुने छैन भनी धम्की आएका कारण प्रहरीकोमा उजुरी दिन सकेका थिएनौं, बालिकाको आफन्तले बताएका छन् ।

बलात्कारपछि चौधरीले बालिकालाई समेत धम्की दिएका कारण घटना ढीलो गरी सार्वजनिक भएको हो । 

अत्याधिक रक्तस्राव भएपछि १० असारमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याउँदा बलात्कारको रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक जबराले अस्पतालमा कार्यरत प्रहरीले जानकारी गराएपछि बालिकाको आफन्तलाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेको बताए । 

अहिले पनि बालिकाको गाउँमा मुद्दा मिलाउन दबाब आइरहेकोले आफूहरू गाउँमा असुरक्षित भएको बालिकाको परिवारले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर