धान दिवस : सुदूरपश्चिममा चामल आयात घट्याे, मलकाे अभाव उस्तै

कैलाली । असार १५ अर्थात आज धान दिवस । धान दिवसलाई सरकारले नै विशेष दिवसको रुपमा मनाइरहँदा यहाँ उत्पादन भएको धानले नेपालीहरुलाई नपुगेको तथ्यांक छ । 

तर, सुदूरपश्चिम प्रदेशमा भने चालु आर्थिक वर्षमा चामल आयातमा कमी आएको छ । हरेक वर्ष अर्बौ रुपैयाँको चामल आयात हुँदै आएकोमा चालु आर्थिक वर्षमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार हुँदै प्रदेशमा गत आर्थिक वर्ष (२०७५/७६) मा २५ हजार एक सय २१ मेट्रिक टन चामल आयात भएको थियो । गत वर्ष एक अर्व २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैयाँ मूल्यको चामल आयात भएको थियो । 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ मा गत वर्षको तुलनामा चामल आयातमा निकै कमी आएको छ । चालु आर्थिक वर्षमा ११ हजार तीन सय १७ मेट्रिक टन मात्र चामल आयात भएको जनाइएको छ । यसको मुल्य  ६१ करोड रुपैयाँ हो । प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माका अनुसार पछिल्लो आर्थिक वर्षमा मन्त्रालयले गरेका विभिन्न कार्यक्रमका कारणले चामलको आयातमा कमी आएको हो । 

समाचार दैनिकसँगको कुराकानीका क्रममा उनले भने, ‘मन्त्रालयले चामल आयातमा कमी ल्याउन चैते धान खेती विस्तार, मसिनो र बास्नादारी धान खेती कार्यक्रम, सिचाईं सेवाको विस्तार लगायतका कारण चामल आयातमा कमी ल्याउन सफल भएका छौं ।’

तर, मन्त्रालयले यसो भनिरहदा आफै त्यसको खण्डन पनि गरेको छ । मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माका अनुसार यो वर्ष चामल आयातमा प्रभाव परेको छ । कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण यसको आयातमा प्रभाव परेको हो । उनले भने, ‘सरकारले गरेको लकडाउनले चामल ढुवानी हुन सकेन । यसका कारण पनि चामल आयातमा कमी आएको हुन सक्छ ।’ 

सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हुँदै गएको पनि मन्त्रालयले दावी गरेको छ । प्रवक्ता शर्माले देशभरी नै धान उत्पादनमा कमी आए पनि प्रदेशमा भने धान उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाउने गरेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशमा छ लाख पाच हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७६÷७७ मा छ दशमलव सात प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा छ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ । मन्त्रालय मातहातको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले संघीयता लागु भएसंगै प्रदेशमा कृषि क्षेत्रमा फड्को मारेको बताए । उनले भने, ‘संघीयता अघि कृषिमा बजेट पनि अपुग थियो । 

अहिले किसानका लागि प्रदेश र स्थानीय तहबाट कृषि सामग्री, बिउ लगायतको सहयोग पुगेको छ । यसले कृषकलाई पहिलेको भन्दा धेरै हदसम्म सहयोग पुगेको छ ।’

...............
यो वर्ष सुदूरपश्चिममा ‘रोपाईं महोत्सव’ नहुने

सोमवार राष्ट्रिय धान दिवस, विगतका वर्षहरुमा असार १५ लाई विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउने गरिएको थियो । प्रत्येक वर्ष असार १५ गते प्रदेश सरकारले आयोजना गर्ने रोपाई महोत्सव यस वर्ष नहुने भएको छ । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना संक्रमणका कारण सोमबार हुने रोपाई महोत्सव स्थगित गरिएको जनाएको छ ।

विगतका वर्षहरुमा राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम र धान महोत्सव गरी प्रदेशभरी नै कार्यक्रमहरु आयोजना गरिदैं आएकोमा यसपाली संक्रमण फैलन सक्ने खतराका कारण राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव स्थगित गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले बताए । ‘विगतका वर्षमा हामीले धूमधामसँग रोपाई महोत्सवको आयोजना गर्ने गरेका थियौँ’, उनले भने, ‘यस वर्ष सङ्क्रमण फैलन सक्ने अवस्थाले स्थगित गरिएको छ ।’

सरकारले २०६१ सालदेखि असार १५ मा राष्ट्रिय धान दिवस मनाउँदै आएको थियो । प्रदेश सरकारले भने विगत ३ वर्षदेखि राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गर्दै आएको थियो ।

..................
सुदूरपश्चिममा ५५ प्रतिशत खेतीयोग्य जमीनमा सिंचाई सुविधा अभाव 

सुदूरपश्चिम प्रदेशमा मल खाद, विउसंगै कृषकहरुले सिंचाई अभाव पनि व्यहोर्नु परिरहेको छ । प्रदेशभरीका कुल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशतमा पनि सिंचाई पुग्न नसकेको कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक लाख ६९ हजार सात सय ८५ हेक्टरमा सिचाइ सुविधा पुगेको जनाईएको छ ।

निर्देशनालयका अनुसार एक लाख १३ हजार तीन सय दुई हेक्टर क्षेत्रफलमा वर्षभरी सिंचाई सुविधा रहेको छ । त्यस्तै ५६ हजार चार सय ८३ हेक्टरमा आंशिक सिंचाई सुविधा रहेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा अझै धान खेती व्यवसायिक वन्न नसकेको बताए । उनले भने, ‘प्रदेशका कृषकहरु अहिले पनि परम्परागत शैलीमै धान खेती गर्दै आएका छन् । यसलाई व्यवसायिक बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउन आवश्यक छ ।’ उनले वर्षा भएपछि मात्र किसानहरुले समयमै धान रोप्ने तर, रोपीसकेपछि वर्षा नभए उत्पादनमा हस आउने गरेको जानकारी दिए ।

...............
सुदूरपश्चिममा धान खेतीका लागि मल अभाव कायमै

सधैं रासायनिक मल प्रयोग गरेको खेतमा यसबर्ष मल अभावमा उब्जनी घट्ने कैलारी गाउपालिकाका किसान प्रेम चौधरीले समाचार दैनिकसँग गुनासो गरे । उनले समयमै मल नपाउँदा खेती गर्न सारै नै समस्या भइरहेको बताए । देशमा जारी लकडाउनका कारण सहजै मल पाउन नसकिरहेको किसानहरू बताउँदै आएका छन् । मल खोज्न धेरै ठाउ धाए पनि मल भन्ने नपाएको कैलारी गाउपाँलिकाकै अर्का किसान सुरेशकुमार चौधरीले गुनासो गरे ।

मल नपाउँदा विना मलमै खेती गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । खेती लगाउने समयमै मल नपाए पछि यस वर्ष उब्जनी घट्ने चिन्तामा किसानहरू छन् । प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले मलको कुनै पनि अभाव नभएको दाबी गदै आएको छ । सुदूरपश्चिममा ‘डिएपी’ सात हजार ५० मेट्रिक टन, ‘युरिया’ आठ हजार मेट्रिक टन र ‘पोटास’ दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।

लक्ष्य भन्दा केही बढी मल आए पनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीको दाबी छ । उनले डिएपी छ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको उनले जानकारी दिए । बाकी मल आउने क्रममा रहेको भन्दै उनले केही दिन भित्रै किसानले पर्याप्त मात्रामा मल पाउने दाबी गरे । किसानहरूले वर्षेनी खेतीपातीको मुख्य सिजनमा यस्तै समस्या झेल्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर