• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

संसद् दिवस : संसदीय अभ्यासलाई सुधार गर्नुपर्नेमा सापकोटा र तिमिल्सिनाको जोड

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गरेका छन् । 
 दिवसका अवसरमा दिएकाे सन्देशमा उनीहरुले लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफनो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अङ्गभङ्ग भएका योद्धाप्रति उच्च सम्मान व्यक्त पनि गरेका छन् ।  

नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो । उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइँदै आएको छ । जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रूपमाा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । सापकोटा र तिमिल्सिनाले भनेका छन् , “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ ।”

कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै उनीहरुले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको स्पष्ट गरेका छन् । आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्न सक्छ भन्ने मान्यता रहिआएको छ ।

संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिएका छन् । विगतको सशस्त्र र शान्तिपूर्ण आन्दोलन तथा विभिन्न समयमा भएका परिवर्तन र सुधारका परिणामस्वरुप जनताले चुनेका प्रतिनिधिले संविधानसभामार्फत  संविधान निर्माण भई कार्यान्वयनमा आएको घटनाको उनीहरुले स्मरण गराएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर