• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाल्पामा कोरोना रिपोर्ट नआई घर पुगे संक्रमित, टोल नै सिल

पाल्पा । केही दिनदेखि सुन्य संक्रमित रहेको पाल्पामा आइतबार थप एक युवामा कोरोना संक्रमण पुष्टि भयो ।

१० दिनअघि भारतबाट आएका ती संक्रमित युवा रम्भा माध्यमिक विद्यालय ताहुमा निर्माण भएको क्वारेन्टाइनमा बसेका थिए । रिपोर्ट आउन ढिला भएको भन्दै उक्त युवक रिसाएर शुक्रबार राती भागेर आफ्नो घर गएका थिए । 

शनिबार दिउँसो ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताएका छन् । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका क्रममा उनिमा आइतबार संक्रमण पुष्टि भएको हो । संक्रमित युवा गाउँमा गएको हुँदा उनको घरसहित सिंगो टोललाई पूर्ण रुपमा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

करिब १५ घर रहेका उक्त टोलका मानिसलाई बाहिर जान रोक लगाइएको र भोलिबाट स्वास्थ्यकर्मीको टोली खटाएर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गाउँपालिकाले गेरेको अध्यक्ष भण्डारीले बताए । 

उनीहरूको रिपोर्ट नआउँदासम्म टोललाई सिल गर्ने कार्य जारी रहने उनले बताए । रम्भा गाउँपालिकाले संक्रमित युवासंगै अन्य ३७ जनाको पिसिआर परीक्षण गरिएकोमा अन्य सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

संक्रमण देखिएका उनलाई अहिले रम्भा माविको क्वारेन्टाइनमा राखिएको छ । थप एक जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६२ पुगेको छ । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । 

संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४६ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा जेठको १७ गते पहिलोपटक भारतबाट आएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर