• २०८३ मङ्सिर ५ शनिबार
  • Saturday, 21 November, 2026

खाना खुवाउन रोक्ने महानगरलाई साझाले भन्योः ‘कि काम, नभए माम दे’

काठमाडौं । खुलामञ्चमा असाहय र रोजगार विहीनहरुलाई खाना खुवाउन काठमाडौं महानगरपालिकाले रोक लगाएपछि साझा पार्टीले त्यसको प्रतिरोध गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले सरकारले कि कामको व्यवस्था गरोस् कि मामको व्यवस्था गरोस् भनि माग समेत गरेका छन् । 

केही परोपकारी समूहहरुले बन्दाबन्दीपछि खुलामञ्चमा रोजगारविहीन र असहायहरुलाई खाना खुवाउँदै आएको थियो । 

‘केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । 

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारको सो कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने गरी महानगरको निर्णयलाई साझा पार्टीले चुनौति दिएको छ ।  ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’, साझाले चुनौति दिंदै भनेको छ । 

साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र भएको उसले बताएको छ । साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न समेत अपील गरेको छ।  

सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरेर कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर