संसद विघटन विरुद्ध मोरङमा संयुक्त आन्दोलन सुरु

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको घटनाका विरुद्धमा मोरङका चार राजनीतिक पार्टीहरुले संयुक्त आन्दोलनमा जाने निर्णय गरेका छन् । 

सोमबार विराटनगरमा बसेको संयुक्त बैठकले सरकारको असंवैधानिक कार्य सच्याउन र त्यसको विरुद्धमा जनमत तयार पार्न निरन्तर संघर्ष गर्ने निर्णय गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु जयराम यादव र तेजलाल कर्ण नेपाली काग्रेंस मोरङका सचिव नागेस कोइराला, र मोदराज घिमिरे, समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव, राजपा मोरङका अध्यक्ष मोहमद कादिर लगायतको उपस्थितिमा भएको बैठकले संसद विघटन विरुद्ध जिल्लामा संयुक्त आन्दोलन गर्ने निर्णय गरेको हो । 

संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपतिको निर्णय घोर असंवैधानिक, लोकतन्त्र विरोधी र व्यवस्थाकै विपक्षमा रहेको ठहर बैठकले गरेको छ । बैठकले सरकारको असंवैधानिक कदमको विरोधमा जिल्लाभर कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रीक भएको भन्दै त्यसको घोर विरोध गर्ने निर्णय भएको नेकपा मोरङका सचिव शुसिल उप्रेतीले बताए । 

बैठक लगतै सोमबार अपरान्ह नै विरोध प्रदर्शन गरेको छ । विराटनगर स्थित तीनपैनी चोकबाट सुरु भएको विरोध जुलुस नगरमा नाराबाजी गर्दै बुधहाट चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर