• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मुसिकोट । एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३७ जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको शिविरबाट १ सय ६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् । 

नगरपालिकाको वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार गरिएको शिविरमा निशुल्क औषधिसमेत वितरण गरिएको थियो । चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यहाँका १०, ११, १२, र १३ वडाका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा दिइएको नगरपालिकाले जनाएको छ । शिविरमा छाला, नाक, कान, दाँत, ग्यास्ट्रिक, रुघाखोकी, पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको बताइएको छ । स्त्रीरोग विशेषज्ञ डा अजित जर्ज कुरुभिल्लाको टोलीले शिविरमा आएका बिरामीको स्वास्थ्य जाँच गरेको थियो । 

घरआँगनमै निःशुल्क स्वास्थ्य जाँच, उपचार र परामर्शसहितको सेवा लिन पाउँदा यस क्षेत्रका बिरामी खुसी भए । स्वास्थ्यचौकी नभएका विभिन्न वडाका बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुरुप नै शिविरको आयोजना गरिएको नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार चौरजहारी नगरपालिकाले स्वास्थ्यचौकीको पहुँच नभएको वडाका बिरामीलाई विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ । हाल चौरजहारी नगरापालिकामा तीन स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर