• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पृथ्वी जयन्ति: काठमाडौंमा जयजयकार, किर्तिपुरमा प्रतिकार

काठमाडौं । आफ्नो राज्य विस्तार गर्ने क्रममा आधुनिक नेपाल निर्माण गरेका पृथ्वीनारायण शासहको ३००औं जन्म दिन आज विविध कार्यक्रम गरि मनाईयो । उनले गरेको राज्य विस्तार ठिक थियो कि बेठिक भन्ने कुराको बहस नेपाली राजनीतिमा अहिले पनि चलिरहेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा आजको दिन एउटा हिस्साले मनाईरहँदा अर्को हिस्सा भने विरोधका स्वर उठाईरहेको थियो । 

सांकेतिक रुपमा भन्दा काठमाडौंमा पृथ्वी नारायण शाहको जयजयकार भईरहँदा किर्तिपुरमा भने प्रतिकार भईरहेको थियो । काठमाडौं तथा किर्तिपुरका नेवार समूदायहरु पृथ्वी नारायण शाहले जवरजस्ती आफ्नो राज्य हडपेको र त्यस क्रममा नेवार समूदायमाथि निर्ममता प्रयोग भएकोमा अहिले पनि विरोध गरिरहेका छन् । 

मंगलबार पनि नेपाली राजनीतिक बहसमो देखिएको समर्थन र विरोधको स्वर जस्तै पृथ्वी नारायण शाहको जयजयकार र प्रतिकारमा सडकमा नागरिकहरु उत्रिए । 

प्रतिरोधमा आयोजित कार्यक्रममा कीर्तिपुर निवासी नेवाः भाषा संरक्षण अभियन्ता प्रयागमान प्रधानले शाहले एकीकरण गरेको नभई यहाँका जनतामामाथि गरेको बेइमानी र धोकाको संज्ञा दिएका छन् ।एकीकरणकै नाममा नेवाः लगायत आदिवासीले सांस्कृतिक रूपमासमेत लामो समयदेखि क्षति भोग्नु परेको उनले बताए ।

उनले भने, ‘पृथ्वीनारायण राष्ट्र निर्माता नभइकन एक धुर्त तथा हिंस्रक शासक हुन् । यहाँका जनतामाथि गरेको उत्पीडनको इतिहास लेखिनुपर्छ । एकिकरणको नाममा लेखिएको इतिहासको पुनःलेखन हुनुपर्छ ।’ 

प्रतिरोधका अध्यक्ष मनोज खतिवडाले तत्कालीन समयमा एकीकरण अभियानका नाममा अर्को राज्यमा, त्यसमा पनि जनतामाथि भएको दमन र हिंसाप्रति प्रतिरोधको आवाज उठाउन कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा रजनी मिलाले ‘मेरा प्रेमका हत्याराहरू’, अभय श्रेष्ठले ‘मानचित्र’, समर्पण श्री ‘जब शासक ढालिने छ’ र शकुन्तला जोशीले ‘अनाम सर्जक’ शीर्षकको प्रतिरोधी कविता सुनाएका थिए । 

कार्यक्रममा थिएटर मल–कीर्तिपुर रंगमञ्चका कलाकारहरूले नाटक ‘मिठो मगज’ प्रस्तुत गरेका थिए । सांकेतिक रुपमा कीर्तिपुरमाथि पृथ्वीनारायणले आक्रमण गर्दा जनतामाथि भएको ज्यादतिलाई नाटकमा चित्रण गरिएको थियो । 
यता काठमाडौं सिंहदरवारको पश्चिम गेट अघिल्तिर अवस्थित शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि, पूर्व राजा ज्ञानेन्द्र शाह, राप्रपा लगायतका राजनीतिक शक्तिले जयजयकार गरे । 

राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरिसकेपछि पूर्वराजा शाह पनि सिंहदरबार पुगेर उनको सालिकमा माल्यार्पण गरेका छन्। पृथ्वीनारायण शाहले चलाएको नेपालको शाह वंशीय राजतन्त्रमा ज्ञानेन्द्र अन्तिम राजा हुन्।

राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तिको दिन सार्वजनिक विदा दिने गरिन्थ्यो। गणतन्त्र आएपछि विदा कटौती गरिएको छ। पछिल्लो समय पृथ्वी जयन्तिलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु पर्ने माग उठिरहँदा त्यसको विरोधका स्वरहरुपनि उत्तिकै छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर