• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा

चितवन ।  थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन । नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएका छन् । 
 
उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन  गरेका हुन् । उनको होटलमा थारु भान्से (कुक) ले घोँगी, हाँसको छोइला, चिचर, झिंगे माछा, अन्य माछा, गगँटाजस्ता थारुका परम्परागत परिकार पाइन्छन् । त्यसो त होटलमा अरु परिकार पनि पाक्ने गर्दछन् ।
 
महतोले भने, “मेरो होटलमा आउनेको पहिलो रोजाइ थारु खाना नै हुने गर्दछ ।” चिल्लो कम हुने हुँदा थारु खाना स्वास्थ्यवद्र्धक र पोषिलो हुने गर्दछ । थारुको बाहुल्य बस्ती रहेको जिल्लाको सहरी क्षेत्रमा यस्ता अन्य होटल नभएको उनको भनाइ छ । उनले भने, “म थारु परिकारका लागि माडी, टाँडी र मेघौलीसम्म पुगेर सामग्री ल्याउने गर्दछु ।”
 
परिकार थारुका पाक्ने भए पनि अन्य जातिले बढी रुचाएको उनको अनुभव छ । थारु परिकार पाइन्छ भन्ने थाहा पाउने परपरबाट पनि आफ्नामा आउने गरेको महतोको भनाइ छ । उनले भने, “हाम्रो जातिको पहिचानसहितको यो परम्परागत खानाको माग बढ्दो छ ।” मानव स्वास्थ्यका लागि थारु परिकार आफैँमा निकै राम्रो हुने उहाँको दाबी छ ।
 
त्यसो त यो समुदाय खानाकै कारण स्वस्थ र दीर्घजीवी हुने गर्दछ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका महतोले २२ वर्षको उमेरबाट होटल क्षेत्रमा काम थाल्नुभएको हो । अहिले ३८ वर्ष हुँदै गर्दा आफू सन्तुष्ट रहेको बताउनुहुने महतोले झण्डै नौ वर्ष जिल्लाको ठूलो होटल सेन्ट्रल पाममा काम गर्नुभयो । झाडुपोचादेखि व्यवस्थापनसम्मको सबै कामको अनुभव सङ्गाल्नुभएका उहाँले केही वर्ष नारायणगढमै साथीको एक होटलमा व्यवस्थापकको जिम्मेवारी सम्हाले ।
 
उनले विसं २०७४ को असोज ६ गतेदेखि यो होटल सुरुआत गर्नुभएको हो । ऋण गरेर रु २० लाख हाराहारीको लगानीमा सुरु भएको ह्याप्पी होममा सुरुमा आठ कोठा थिए । अहिले बढाउँदै लगेर २० कोठा पुगेका छन् । लगानी रु एक करोडभन्दा बढी भइसकेको महतोको भनाइ छ ।
 
बैंकमा ऋण भए पनि ग्राहकको सन्तुष्टिका कारण आफूलाई पनि सन्तुष्टि मिलेको उनी बताउँछन्। आफ्ना उमेरका धेरै साथी विदेशिएको भन्दै उहाँले स्वदेशमै आफ्नो जातिको भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै खानाको प्रवद्र्धनमा लाग्न पाउँदा यसैमा रमाएको बताए । उनले भने, “मैले अहिले पनि १२ जनालाई रोजगारी पनि दिन सकेको छु ।”
 
अन्यत्र काम गर्दा आफूले गरेको मिहिनेतको प्रतिफल अहिले पाउन थालेको भन्दै उनले मिहिनेतका साथ काम ग¥यो भने स्वदेशमै धेरै गर्न सकिने बताए । 
–––

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर