• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सरकार विरुद्ध सडक आन्दोलन थाल्ने एमाले तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन प्रयास गर्ने नसकेमा आन्दोलन मार्फत मध्यावधी चुनावमा जानुपर्ने निचोडमा एमाले अध्यक्ष केपी ओली पुगेका छन् । 

एमालेले आन्दोलनको आधार बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र समेत बुझाउँदैछ । 

गठबन्धन सरकारले एकवर्षे कार्यकाल पूरा गरेलगत्तै प्रमुख विपक्षी एमालेले नयाँ सरकारको विकल्प खोजी गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको हो । सत्तारूढ गठबन्धन भत्काएर अर्को सरकार बनाउने नसकेमा मध्यावधिमा लैजाने एमालेको तयारी छ ।  

ओलीले जनताको बलमा निर्णायक आन्दोलन गरेर मध्यावधि चुनावमार्फत देशलाई निकास दिनुपर्ने अवस्था आउन सक्ने बताउन थालेका छन्। 

‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ? उस्तै परे हामीले गठबन्धन भत्काएर।।। तर लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरू सबैको घाँटी, शरीर एकै ठाउँ जोडिएको छ ।  त्यसैले, हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ । आन्दोलनका निम्ति पार्टीले जति वेला सिठी बजाउँछ, त्यति वेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ । छोटो तयारीमा आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ । उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ  ।’

अध्यक्ष केपी ओलीले एक सातायता सार्वजनिक कार्यक्रममार्फत लगातार सरकारको विकल्प खोज्नका लागि आन्दोलन गर्ने घोषणा गर्दै आएका छन् ।

ओलीले सरकार असफल भइसकेकाले मिसन ०८४ भनेर एमालेले नकुर्ने भन्दै मध्यावधिको समेत संकेत गर्दै आएका छन् ।

१५ माघभित्र बस्ने केन्द्रीय सचिवालय बैठकले आन्दोलनको एजेन्डा पास गर्ने एमालेको तयारी छ । 

गठबन्धन भत्काउन एमालेले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारीमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि छुट्टाछुट्टै प्रस्ताव राखेको थियो । संक्रमणकालीन न्याय टुंगो लगाउन एमालेको साथ खोजेका प्रधानमन्त्री प्रचण्ड ओलीको विश्वासिलो भनाई नपाएपछि पछि हटे ।  

गबठन्धनको प्रमुख खेलाडी कांग्रेस सभापति देउवाको रोडम्यापअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेसम्म गठबन्धन नटुट्ने बुझाइ भए पनि पछिल्ला दिनमा गठबन्धनभित्र संकट सुरु भएको एमालेको बुझाइ छ ।  

गठबन्धन फुटाउन अध्यक्ष ओली कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर सम्पर्कमा छन् । यसैबीचमा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । 

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरू सम्मिलित टोलीले मंगलबार प्रचण्डलाई भेटेर जनताको समस्या र सरकारले गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गराउन लागेको हो । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा जनस्तरबाट आएका सुझाव, माग र समस्या समेटेर ध्यानाकर्षण बुझाएर सातवटै प्रदेशमा सभा गरेर पूरा गर्न अल्टिमेटम दिने र जनदबाब बढाएर आन्दोलन नै गर्ने एमालेको तयारी छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर