• २०८१ बैशाख २५ मंगलबार
  • Tuesday, 7 May, 2024

ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादी निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अन्ततः अमेरिकी सहयोग परियोजना एमसीसी संशोधनका बुँदासहित पास गर्ने निर्णय गरेको छ । 

आइतबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पूर्वस्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।  बैठकले एमसीसी सम्झौतामा रहेका विवादित बुँदाहरु र एमसीसी मुख्यालयबाट आएको जवाफका आधारमा ब्याख्यात्मक टिप्पणी समेटेर पास गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

शनिबार नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीका विवादित बुँदाहरुमा यस अघि अर्थमन्त्रालयले सोधेको प्रश्न र त्यसमा एमसीसी मुख्यालयले दिएको जवाफलाई समेत संसदबाट सँगै पास गरेपछि अन्योलता हट्ने गठबन्धनको बुझाई छ । 

बैठकलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने कार्यक्रम छ। 

अहिले बिहान साढे १० बजे देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता गर्ने तय भएको खुमलटार स्रोतले जनाएको छ। 

सत्तारुढ गठबन्धन दलहरुकाबीचमा शनिबार अमेरिकी सहयोग परियोजना एमसीसी संशोधनसहित संघीय संसदबाट पारित गर्ने र गठबन्धन जोगाउने सहमति भएको थियाे । गठबन्धन घटक दलहरु नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा शनिबार यस्तो सहमति भएको हो ।

एमसीसी जसरी भएपनि पास गर्न कस्सिएका प्रधानमन्त्री शेरबहादुर देउवा र यथाअवस्थामा विपक्षमा मतदान गर्ने निर्णय गरेका अध्यक्ष प्रचण्ड र नेता नेपालकाबीचमा एमसीसी संशोधनसहित पास गर्ने सहभति भएको गठवन्धनका एक शीर्ष नेताले समाचार दैनिकलाई जानकारी दिए । 

एमसीसीका कतिपय प्रावधानहरु नेपालको राष्ट्रिय हित प्रतिकुलका भएकाले त्यसलाई जस्ताको त्यस्तै पास गर्न नहुने बहस नेपाली राजनीतिक तथा सामाजिक बृत्तमा समेत थियो । नेपालको हित प्रतिकुलका भनिएका विषयहरु समेटेर यस अघि अर्थमन्त्रालयले एमसीसी समक्ष प्रष्टिकरण समेत माग गरेको थियो ।

त्यस्तो प्रष्टीटकरणमा एमसीसी मुख्यालयले एमसीसी सम्झौता नितान्त विकास आयोजना मात्रै भएको, यसको अमेरिकी सैन्य रणनीति तथा सुरक्षा रणनीतिसँग साईनो नभएको, नेपालको संविधान भन्दा पनि माथि भन्ने कुरा गलत बुझाई रहेको जस्ता स्पष्टीकरण दिएको थियो । तीनै स्पष्टीकरणहरुलाई समेत संशोधन प्रस्तावका रुपमा एमसीसीसँगै संसदबाट पारित गर्ने र मूल सम्झौताको अंग बनाउने गठवन्धनको तयारी छ । 

यसो गर्दा एमसीसी जस्ताको त्यस्तै पारित पनि नहुने र गठबन्धन दलहरुबीचको एकता पनि कायम रहने भएकाले बीचको विकल्प अपनाईएको हो । 

सत्तारुढ घटकले एमसीसीको पक्षमा साथ दिन नसक्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ समेत मागेका थिए । तर, एमालेले एमसीसी पास गर्नका लागि आफ्नो विभिन्न सर्तहरु अघि सारेको थियो । ती सर्तहरु पूरा गर्न प्रधानमन्त्री देउवाका लागि फलामको च्यूरा चपाउनु सरह भएकाले झण्डै एक साता लामो प्रयासमा पनि दुई ठूला दलबीच सहमति हुन सकेको थिएन । 

एमालेले एमसीसी पास गर्न कि त आफूले कारबाही गरेर हटाएका १४ सांसदलाई बर्खास्त गर्नुपर्ने कि सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध महाभियोग लगाउनु पर्ने सर्त अघि सारेको थियो । तर ती विषय अहिले पनि सर्वोच्च अदालतमा विचाराधिन रहेको र सभामुखलाई हटाउने कुरा त्यति सजिलो नभएका कारण काँग्रेस एमालेबीच सहमति नभएको हो । 

सत्तारुढ घटक दलहरु समेत प्रधानमन्त्री जसरी पनि एमसीसी पास गराउन लागेको र आवश्यक परे गठबन्धन भत्काउन पनि तयार रहेको देखेपछि अन्ततः एमसीसीमा संशोधनको प्रस्ताव र एमसीसी संसदबाट संगै पास गर्न तयार भएका हुन् ।

शीर्ष नेताबीचको सहमति अनुसार आईतबारबाट एमसीसीका विषयमा छलफल सुरु हुनेछ । संशोधन प्रस्ताव पनि आईतबारकै बैठकमा पेश गर्ने र दुवैलाई एकैपटक छलफलमा लैजाने तयारी छ । सभामुखसँग समेत परामर्श गरेर संसदीय प्रकृयामा यो संशोधन प्रस्ताव प्रवेश गराउने गठगन्धनको तयारी छ । 

शनिबार अपरान्ह दलहरुकाबीचमा भएको यो सहमति आईतबारसम्मा नविथोलिएमा वर्तमान सत्ता गठबन्धन पनि आगामी चुनावसम्म कायम रहने र सर्वाधिक विवादित एमसीसी समेत संशोधनसहित पास हुने छ ।

नेपालमा यसरी संशोधन प्रस्तावसहित पारित हुने एमसीसी सम्झौताका विषयमा एमसीसी मुख्यालयलाई समेत नेपाल सरकारका तर्फबाट जानकारी गराईसकेको बताईएको छ । 

 एमसीसी सम्झौताबारे नेपालमा चौतर्फी विवाद भएपछि सरकारले ११ वटा प्रश्नमा आधारित भइ एमसीसीको मुख्यालयलाई पत्राचार गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर