• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

नेकपा कार्यदलको कार्यप्रगतिप्रति शीर्ष नेतानै असन्तुष्ट

सदस्यलाई नै थाहा छैन कहिले सकिन्छ काम  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकताको बाँकी विषय टुङ्गो लगाउन गठन गरेको कार्यदलले कहिले सम्म आफ्नो काम पूरा गर्छ भन्ने अन्यौलता देखिएको छ । 

स्थायी कमिटिले गठन गरेको कार्यदललाई काम पूरा गर्न पुस मसान्तभित्रको समयसीमा दिएपनि कार्यदलका सदस्यहरु भने आफूहरुलाई कुनै समयसीमा निर्धारण नगरेको बताउँछन् ।  उनीहरुले कार्यदललाई कुनै समयसीमा नरहेकाले छिट्टै निष्कर्षमा पुग्ने गरि छलफललाई निरन्तरता दिइरहेको बताएका छन् । तर कहिलेसम्म यी विषयको निक्र्यौल हुन्छ भन्नेमा उनीहरुनै अन्योलमा छन् ।

कार्यदल गठन भएको करिब एक महीना हुना लाग्दा यो  अवधिमा जम्मा ६ ओटा वैठक बसे । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको लामो समय बितिसक्दा पनि सांगठनिक एकताले पूर्णता पाउन नसकेपछि पुस दोस्रो सातासम्म बसेको नेकपा स्थायी कमिटी बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

स्थायी कमिटीले दिएको कार्यादेशानुसार कार्यदलले संगठनात्मक लगायत एकतामा बाँकी रहेका अन्य विषय टुंगो लगाउन निरन्तर छलफल भने गरिरहेको कार्यदलका सदस्य वेदुराम भुसालले समाचार दैनिक डटकमलाई जानकारी दिए । 

उनले भने, ‘कार्यदल गठन भएपछि ६ वटा बैठक बसियो । विभिन्न विषयमा छलफल भैरहेको छ तर निष्कर्षमा भने पुगिएको छैन । माघे संक्रान्तिका कारण बैठक केहि समय बस्न नसकेपनि अब यसले निरन्तरता पाउने छ ।’ उनले भने, ‘कार्यदलमा थोरै सदस्य छौँ हामी जति खेर पनि बैठक बसेर फेरी यसविषयमा छलफल गर्नेर्छौ ।’ 

कार्यदल सदस्य भुसालले बाहिर आएजस्तो कार्यदललाई कुनै समयअवधि नतोकेको बताए । उनले काम निरन्तर अगाडी बढीरहेको दाबी पनि गरे । तर, नेकपाकै केही बरिष्ठ नेताहरु कार्यदलको कार्यप्रगतिप्रति असन्तुष्टी जनाउन थालिसके । शीर्ष नेताहरु, त्यसमा पनि अध्यक्षले नचाहेका कारण कार्यदलले काम गर्न नसकेको बरिष्ठ नेता झलनाथ खनालको आरोप छ ।

खनालले समाचार दैनिक डटकमसँगको कुराकानीमा कार्यदलले काम गर्न ढिलाई गरेको स्विकार गर्दै यो स्वतन्त्र कार्यदल भएकाले यसले आफ्नो कामलाई निरन्तरता दिईरहेको दाबी गरे । उनले भने,‘ कार्यदललाई १५ दिनको समयसीमा दिएको हो, तर त्यो अवधि गइसकेको छ आसा गरौँ छिट्टै यसले आफ्नो कामलाई पूर्णता दिने छ ।’ नेता खनालले कार्यदलले आफ्नो कार्यादेश अनुसार काम गर्ने र पार्टी एकताको बाँकी विषय पनि छिट्टै टुङ्गो लाग्नेमा आफू आसावादी रहेको उल्लेख गरे । 

छलफल केन्द्रीय सदस्यको कार्यविभाजनसम्बन्धी सबै विषय टुंगो लगाउँदै जाने दिशामा केन्द्रित छ । गत पुस १२ गते सम्पन्न स्थायी समिति बैठकले संगठनात्मक एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको गृहकार्यका लागि कार्यदल बनाएको थियो । कार्यादेशानुसार कार्यदलले आचारसंहिता, कार्यविधि र मापदन्ड बनाएर काम गरिरहेको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले काम सकेर सुझाबसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएका थिए ।  कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता भएको लामो समय बित्दा पनि तत्लो तहका एकताको काम बाँकी नै रहेको छ । नेकपाले अहिलेसम्म प्रदेश कमिटीको मात्र एकता टुंग्याएको छ । 

पार्टीको पोलिटब्युरो गठन, जनवर्गीय संगठनहरुको पनि एकता लगायतको काम बाँकी छ । यस्तै केन्द्रीय निकायका विभिन्न विभागहरु पनि बन्न बाँकी छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत हुन सकेको छैन । 

कार्यदलले जिल्ला कमिटीदेखि जनवर्गीय संगठनको एकीकरणको लागि स्पष्ट मापदण्ड बनाएर नेतृत्वलाई पेश गर्ने छ । पुसभित्रै एकता सक्ने भनेपनि माघ महिना सुरु भैसक्दा पनि यसको कुनै संकेत देखिएको छैन । सबै विषयमा सहमति हुन नसके विकल्पसहितका सुझाब दिने गरी छलफल केन्द्रित हुने कार्यदलका सदस्यहरुले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर