• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कर्णालीमा माओवादी पहिलो, यस्तो छ गठबन्धनको सिट बाँडफाँड

सुर्खेत । कर्णाली प्रदेशमा पाँच दलीय गठन्धनले दुई वटा जिल्ला बाहेकका जिल्लामा भागवण्डा मिलाएका छन् । गठबन्धनमा रहेका दलहरुले स्थानीय निर्वाचनको लागि सुर्खेत र पश्चिम रुकुम बाहेक अन्य ८ जिल्लाका सबै स्थानीय तहमा भागवण्डा मिलाएका हुन् । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषेश पहलमा बसेको गठबन्धनमा रहेका दलहरुको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

उक्त बैठकमा पाँच दलिय गठबन्धनका प्रदेश स्तरीय नेता र कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री  शाही, नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला र कर्णाली प्रदेशका मुख्यमन्त्री एवं कांग्रेसका नेता जीवनबहादुर शाहीको विषेश उपस्थिति रहेको थियो ।
  
तर उनीहरुले सुर्खेत र रुकुम पश्चिममा गठबन्धन गर्न नसकेका हुन् । सोमबार मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म पनि विवाद कायमै रहँदा कर्णालीमा गठबन्धनको बारेमा के हुने भन्ने आशंका थियो । पूर्व मुख्यमन्त्री शाहीको पहलमा यस्तो निर्णय भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । 

भागबण्डाको क्रममा सुर्खेत र रुकुम पश्चिम बोहक अन्य ८ जिल्लामा माओवादी केन्द्रले २५ स्थानीय तहको प्रमुख लिने भएको छ भने कांग्रेसले २४ वटा स्थानीय तहको प्रमुख लिने भएको छ । यसैगरी समाजवादीले १४ स्थानीय तहको प्रमुख लिने सहमति भएको पूर्व मुख्यमन्त्री शाहीले जानकारी दिए । 

गठबन्धनको बैठकले  सहमति हुन बाँकी रहेका जिल्लामा उम्मेदवारी मनोनयन गर्ने अन्तिम समयसम्म र उम्मेदवारी फिर्ता लिने समयसम्म सहमतीको प्रयास गर्ने समेत निर्णय गरेको छ । पाँच दलिय गठबन्धनका साझा उम्मेदवारका विरुद्धमा जाने कुनै पनि उम्मेदवारलाई आआफ्नो पार्टीले अनुशासनको कारबाही गर्ने र जसपा र राष्ट्रिय जनमोर्चाले माग गरेका वडाहरुलाई सम्बिन्धत जिल्ला कार्यपालिकाहरुले मतभारको अवस्था हेरि सम्बोधन गर्ने गरी सहमति भएको एक नेताले जानकारी दिए । 

वडाको सिट बाँडफाँडको सन्दर्भमा आआफ्नो जितेका वडा कायम गर्दै बाँकी रहेका वडाहरुमा मतभारका आधारमा न्यायोचित रुपमा बाँडफाँड गर्ने  गठबन्धनको सहमतिमा उल्लेख गरिएको छ । गठबन्धनको बैठकमा माओवादी केन्द्र प्रदेश अध्यक्ष विमला केसी कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, एकीकृतसमाजवादीका अम्मरबहादुर थापा, जनमोर्चाका अध्यक्ष पूर्णबहादुर शाही, जसपाका देविकृष्ण न्यौपानेको उपस्थिति रहेको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर