• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

मदनका छिमेकी, ओलीलाई साइकलमा गाउँगाउँ घुमाउने काफ्ले माओवादीका उम्मेदवार !

‘ओलीलाई साइकलको पछाडि राखेर ०४८ र ०५१ सालको निर्वाचनमा गाउँगाउँ डुलाएको छु,’ काफ्लेले भने,‘मेरो र ओलीबीच गृहमन्त्री हुनुभन्दा अघिसम्म राम्रैसँग भेटघाट हुन्थ्यो । उहाँ गृहमन्त्री भएपछि अर्कै बाटो लाग्नुभयो । हामीजस्तो कार्यकर्तालाई बिर्सिनुभयो । उहाँको व्यवहारले मलाई रुष्ट बनायो र माओवादी पार्टी रोज्न पुगें ।’

झापा । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा रोचक चुनावी भीडन्त हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच आंशिक बाहेकका स्थानमा छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा छन् । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट गौरिगञ्ज गाउँपालिका– का वडाध्यक्षका उम्मेदवार बनेका छन् निलहरि काफ्ले । उनको राजनीतिक पृष्ठभूमि हेर्दा एमालेबाट उठान भएको हो । उनी सानै उमेरदेखि एमालेका तत्कालीन महासचिव मदन भण्डारी समर्थक हुन् । उनी भण्डारीका समर्थक मात्रै होइनन्, छिमेकी पनि हुन् । भण्डारी झापा जाँदा काफ्ले भने बाहिर बाहिरको सुरक्षा दस्ताका रुपमा खटिन्थे । उनी एमालेका कटिबद्ध कार्यकर्ता थिए ।

भण्डारीसँग धेरै नबिताए पनि एमाले अध्यक्ष ओलीसँग भने लामै हिमचिम थियो । उनी ०४७ सालदेखि एमालेमा सक्रिय रुपमा लागेका थिए । त्यसबेला ओलीलाई कार्यक्रम स्थलसम्म पुर्‍याउने काम भने उनै काफ्लेले गर्थे । काफ्ले वडाध्यक्षको उम्मेदवार भएको क्षेत्र भने ओलीकै निर्वाचन क्षेत्र हो । ‘ओलीलाई झापाका विभिन्न ठाउँमा हुने एमालेका कार्यक्रममा म आफैले साइकलको पछाडि राखेर पुर्‍याइदिन्थे । उनी सानो चेहराका, ख्याउटे थिए । म साइकलको पछाडि राखेर खुरुरु कार्यक्रम स्थल पुर्‍याइदिन्थे,’ काफ्ले भन्छन्,‘मैले ओलीलाई झापाको कोरोबारी, खेतीटोला, गौरिगञ्जका हुकागाँछी, लालडिजी लगायतका थुप्रै ठाउँ साइकलमा डुलाएको थिएँ । त्यतिबेला कुनै कुनै योजनाहरु देखाउन र नापजाँप गर्नका लागि जान्थ्यौं भने चुनावमा प्रचारमा भोट माग्न पनि लिएर जान्थे । ओलीलाई साइकलको पछाडि राखेर ०४८ साल र ०५१ सालको निर्वाचनका बेलामा गाउँगाउँ डुलाएको छु ।’

ओलीलाई साइकलमा गाउँगाउँ चुनावी प्रचारका लागि साइकलमा हालेल घमाउँदा काफ्ले भने २६/२७ वर्षका थिए । उनी जनआन्दोलन सकिन लाग्दा एमाले छाडेर माओवादीमा प्रवेश गरेका हुन् । झापाको साविक ६ नम्बर निर्वाचन क्षेत्र अहिले ओली निर्वाचित भएको ५ नम्बर क्षेत्रमा समेटिएको छ । काफ्ले भन्छन्,‘६ नम्बर निर्वाचन क्षेत्र हुँदा म वडाध्यक्षको उम्मेदवार भएको ठाउँमा एमालेको भोट नै थिएन । निर्वाचनमा २/३ सय मत मात्रै आउँथ्यो । त्यतिबेला एमालेका सक्रिय कार्यकर्ता थिएनन् । म आफै यस क्षेत्रमा एमालेमा संगठित गर्नेदेखि ओलीलाई चुनावी सभा हुने ठाउँहरुमा साइकलमा हालेर लैजाने काम गर्थे । 

गृहमन्त्री भएपछि ओलीले कार्यकर्ता विर्सिए 

ओली गृहमन्त्री भएपछि कार्यकर्तालाई विर्सिए । काफ्लेले भने,‘मेरो र ओलीबीच गृहमन्त्री हुनुभन्दा अघिसम्म राम्रैसँग भेटघाट हुन्थ्यो । उहाँ गृहमन्त्री भएपछि अर्कै बाटो लाग्नुभयो । हामीजस्तो कार्यकर्तालाई बिर्सिनुभयो । उहाँको व्यवहारले मलाई रुष्ट बनायो र माओवादी पार्टी रोज्न पुगें ।’

उनी गौरिगञ्जमा रहेको गौरी प्रावि हुँदाकै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए । उनी १४ वर्षसम्म अध्यक्ष भएका थिए । उनी अध्यक्ष भएकै बेलामा प्राविबाट विद्यालय मावि भएको थियो । मावि हुँदा पनि ३ वर्ष अध्यक्ष उनी नै भएका थिए । उनी अहिले पनि स्थानीय सिँचाइ आयोजनाको उपाध्यक्ष छन् । उनी सामाजिक काममा निरन्तर लागिरहेका छन् । ‘गरिब दुःखीका ठाउँमा अहोरात्र पुगेर खटिएको छु,’ उनी भन्छन्,‘वडाध्यक्ष भए पनि मेरो योजना भनेको कृषिलाई अघि बढाउँछु, सुकुम्बासी र मजदुरलाई प्राथमिकतामा राखेर काम गर्छु । शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्छु भनेर जनतासामू प्रतिवद्धता जाहेर गरेर भोट मागिरहेको छुँ ।’ उनले गौरिगञ्ज मावि अहिले भ्रष्टाचार तथा वेथितिको चंगुलमा फसेर तहसनहसको बोटोमा गएकाले त्यसबाट मुक्त गरेर गुणस्तरिय शिक्षा प्रवाहमा खटिन्छु ।’
 
उनले धार्मिक, ऐतिहासिक र प्राकृतिक क्षेत्रलाई पर्यटन भित्र्याउने उद्गमस्थलका रुपमा विकास गर्ने पनि बताए । उनले आफू काममा विश्वास गर्ने भएकाले गर्न नसक्ने कामको आश्वासन नबाड्ने पनि बताए । उनले सामाजिक काम गर्ने क्रममा थुप्रै कथा व्यथाहरु देखेको भोगेकाले पनि उनीहरुको हितमा काम गर्ने बताए । वडाध्यक्षका उम्मेदवार काफ्लेले बाटोको अवस्था खराब रहेको र कमिशनका खेलहरु धेरै भएकाले पनि त्यसलाई रोक्नका लागि आफू सक्रिय भएर लाग्ने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर