• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कवि वासु शशीको नयाँ कृति सार्वजनिक

काठमाडौं । कवि वासु शशीको प्रतिनिधी कविताहरुको संग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक भएको छ । वासु शशीकी धर्मपत्नी श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले राजधानीमा कृतिको लोकार्पण गरे ।

वासु शशी स्मृति परिषदद्वारा आयोजना गरिएको कार्यक्रममा गीतकार रिजालले शशी कविता सिर्जना बिना बाँच्नै नसक्ने प्रतिभा भएको बताए । उनले शशी आफै कविता भएको चर्चा गर्दै शशीले मान्छेका पक्षमा कविता लेखेको दाबी गरे ।

फिल्मकर्मी खरेलले नेपाली कविता साहित्यमा शशीले अतुलनीय योगदान गरेको बताए । उनले शशीको जीवनशैलीको चर्चा गर्दै शशी अत्यन्तै सरल मानिस भएको जनाए । परिषदका अध्यक्ष गणेश रसिकले शशीको साहित्यिक योगदानको चर्चा गर्दै शशीका नाममा परिषदबाट प्रदान गरिने पुरस्कार तथा सम्मान ठूलो गौरवको विषय  भएको बताए ।

साहित्यकार मोमिला जोशीले सबै कविले रचना गरेका सबै कविता उत्कृष्ट नहुने भन्दै शशीका हरेक कविता उत्कृष्ट हुने गरेको खुलाइन् । कृतिका सम्पादक राजकुमार बानियाँले शशाीका कविताले सिंगो समय बोक्ने बताए । शशीका कविता कालजयी भएको बताउँदै बानियाँले शशी सम्पूर्ण कवि भएको जिकिर गरे ।

परिषदका सचिव प्रधुम्न जोशीले शशीले कविताका लागि आफ्नो जीवन समर्पण गरेको उल्लेख गर्दै शशी मसी नभए रगतले कविता लेख्ने अठोट गर्ने कवि भएको उल्लेख गरे । पुस्तक प्रकाशन संस्था बुक–हिल पब्लिकेसनका कवि एवं गीतकार भूपेन्द्र खड्काले अग्रज स्रष्टाहरुका पुराना सिर्जनाहरु खोजेर प्रकाशन गर्नु संस्थाको दायित्व भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर