• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चुनाव पछि माओवादी एमालेभन्दा ठुलाे वाम दल बन्छ: प्रचण्ड 

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई कस्तो बनाउने भन्ने साँचो आम जनताले माओवादीलाई सुम्पेको बताएका छन् । नेकपा माओवादी केन्द्र ललितपुरले स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई गरेको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारको नेतृत्व गर्दै आफ्नै पाटीको नेतृत्वले जनताको रगत पसिनाले ल्याएको गणतन्त्रमाथि कुठाराघात गरेको अवस्थामा स्थानीय निर्वाचन  सम्पन्न हुनु नै संविधानको रक्षा भएको बताउँदै उनले नेपाली राजनीतिमा गत वर्ष निर्वाचन हुन्छ कि हुँदैन भन्ने अवस्थामा रहेको बेला स्थानीय निर्वाचन सफल भएको र गणतन्त्र संस्थागत भएको बताए ।

संविधान रक्षाको दायित्व माओवादीको काँधमा रहेको हुँदा आन्दोलनको जगबाट संविधानको रक्षा भएको छ । सङ्घीय लोकतान्त्रीक गणतन्त्र पछि दोस्रो पटक  स्थानीय तहको निर्वाचन हुनु नै  गणतन्त्रको संस्थागत विकास भएको उनले बताए । 

पार्टीले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको भए पनि  अन्य दलहरुले र अन्तराष्ट्रिय संघसंथाहरुले गरेको प्रक्षेपणमा हामीलाई ३० वटा स्थानीय तह भन्दा अरुमा असफल हुन्छ भन्नेहरूलाई निर्वाचनको परिणामले देखाइ दिएको बताए । 

माओवादीले परिवर्तनको नेतृत्व गरेका कारण र माओवादीको एजेन्डा लागु भएकाले काँग्रेस एमाले जसले जिते पनि आफूलाई माओवादीले नै जिते जस्तो लागेको बताउँदै उनले भने ‘हामीले आफ्नो आकलन भन्दा केही कम मात्र स्थानीय तहमा जित हासिल गरेका छौँ । समग्रमा भन्नु पर्दा पात्र जो देखिए पनि यो जीत माओवादीको भएकै हो ।’ 

देशको राजनीतिक धाराको कुन मोडमा लाने भन्ने जिम्मेवारी माओवादीको हातमा जनताले सुम्पेका हुँदा हिजोका हाम्रा जनसत्ता भएका स्थानहरूमा  अहिले पनि माओवादीले नै जितेको प्रचण्डको भनाइ छ । 

‘स्थानीय तहको चुनावमा लेफ्ट भित्रको पहिलो शक्ति हुने सम्भावना थियो । हामीले यसअघि जितेका ५० प्रतिशत पालिका हार्यौ त्यस कारण राम्रो नतिजा ल्याउन सकेनौ’ प्रचण्डले भने, ‘प्रदेश र संघमा हामी लेफ्ट भित्रबाट पहिलो झन ठूलो सम्भावना छ । त्यहाँ पहिलो भयौं भने देशको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ । माओवादी केन्द्रकै हातमा आउँछ । प्रदेशमा पनि महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने ठाउँमा हुने सम्भावना छ ।’

लेफ्ट भित्रको पहिलो शक्तिमा बदल्न सबैले आ–आफ्नो क्षेत्रबाट मेहनत गर्नुपर्ने प्रचण्डले बताए । ‘हामीले यो ४/५ महिना दुःख गरेर संगठन बनाएर जनताको घर–घरमा पुगेर टोल टोलमा पुगेर काम गरौ । प्रचार प्रसार संगठन सुदृढीकरणमा लागौं । मैले के देखेको छु भने आउने चुनावमा देशको दोस्रो पार्टी लेफ्ट भित्रबाट पहिलो हुने सम्भावना देखेको छु’ प्रचण्डले भने, ‘२०६४ सालमा धेरै ठाउँमा हामीले जितेको हो ।

त्यसपछिका चुनावमा पनि जितेकै हो । २०७४ सालमा जाँदा केही गडबड भयो । अहिले पनि हामीले जोडबल गरियौँ भने आफ्नो इतिहास फर्काउन सक्छौ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर