• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

कक्षा १२ को परीक्षा: ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी

काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ। परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागी हुँदै छन्। नियमिततर्फ ३ लाख ९० हजार ८ सय ९५ र ग्रेडवृद्धितर्फ १ लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदै छन् ।

परीक्षामा १ हजार ५ सय २६ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न ५२ हजार ४ सय ७१ जनशक्ति परिचालित हुनेछन् ।

त्यसमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित गरी १८ हजार ३ सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

परीक्षामा २७ हजार ३ सय ७ निरीक्षक, १ हजार ९ सय ७ कर्मचारी, १ हजार ५ सय २५ केन्द्राध्यक्ष, १ हजार ९ सय ७ सहायक केन्द्राध्यक्ष र १ हजार ५ सय २५ कार्यालय सहयोगी खटिनेछन् ।

परीक्षामा सबैभन्दा धेरै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय काठमाडौंअन्तर्गत विद्यार्थी सहभागी हँुदै छन् ।

सो कार्यालयअन्तर्गत ३ सय २ परीक्षा केन्द्रमा १ लाख ६ हजार ४ सय ७९ परीक्षार्थी सहभागी हुँदै छन् । कम प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतअन्तर्गत ४८ केन्द्रमा १६ हजार ९ सय ८३ परीक्षार्थीेले परीक्षा दिनेछन् । जापानको एक केन्द्रमा ३२ विद्यार्थी सहभागी हुँदै छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी वागमतीमा ३ सय ७६ परीक्षा केन्द्रमा १ लाख १६ हजार ४ सय ४० र कम सुदूरपश्चिममा १ सय ५७ केन्द्रमा ४९ हजार ५ सय ६३ परीक्षार्थी सहभागी हँुदै छन् ।

परीक्षामा सबैभन्दा धेरै काठमाडौंमा १ सय ४४ केन्द्रमा ६४ हजार ८ सय ९२ विद्यार्थीले परीक्षा दिँदै छन् । कम मनाङको एउटा मात्र केन्द्रमा ४४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । मनाङ र मुस्ताङमा एक–एक केन्द्र कायम गरिएको छ ।

बोर्डले यो वर्षबाट इमेलबाट प्रश्नपत्र नपठाएर सबै केन्द्राध्यक्षको व्यक्तिगत पासवर्ड तयार गरी सोही आधारमा परीक्षा सञ्चालन हुनु आधा घण्टाअघि ओटीपी उपलब्ध गराएर प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष शर्माले पहिलोपटक नयाँ प्रविधि प्रयोग गरी प्रश्नपत्र पठाउने व्यवस्था गरेको जानकारी दिए ।

‘प्रश्नपत्र डाउनलोड गर्दा केन्द्राध्यक्षले एक जना सुरक्षाकर्मीको अनिवार्य उपस्थितिमा सहायक केन्द्राध्यक्षको रोहबरमा मात्र प्रश्नपत्र डाउनलोड हुने व्यवस्था गरेका छौं’ –अध्यक्ष शर्माले भने ।

परीक्षामा जिम्मेवार पदाधिकारीबाहेक अन्यलाई मोबाइल फोन लैजान पूर्ण बन्देज गरिएको छ ।

स्मार्ट घडी र क्यालकुलेटर लैजान पाइने छैन। बोर्डले यो वर्षको परीक्षाफल परीक्षा सञ्चालय भएको ४५ दिनभित्र प्रकाशित गर्ने गरी तयारी थालेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर