• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

मुख्यमन्त्री हेरफेर गठबन्धनको शीर्ष तहबाट मात्र गर्नुपर्ने नेकपा एसको निश्कर्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएका छन् । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्ने गरी शीर्ष तहले नै टुंग्याउनुपर्ने बताए ।

७ प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् । एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्ती छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ । ‘कहिँ न कहिँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।

एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुंग्याउने निर्णय गरेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर