• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कुरासाओविरुद्ध अर्जेन्टिना विजयी, मेसीको ह्याट्रिक

काठमाडौं । कप्तान लियोनल मेसीले १०० गोलको कोसेढुंगा पार गरेको खेलमा अर्जेन्टिनाले बुधबार बिहान अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुरासाओविरुद्ध ७–० को फराकिलो विजय हासिल गरेको छ । 

मेसीले २०औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । जुन मेसीको १००औँ गोल थियो । उनले जियोभानी लो सेल्सोको पासलाई नियन्त्रणमा लिँदै विपक्षी रक्षकलाई कटाएर हानेको प्रहार कुरासाओका गोलकिपर इलोए रुमले ठम्याउन सकेनन् । 

त्यसको तीन मिनेट वित्न नपाउँदै निकोलस गोन्जालेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । यससँगै मेसीको अन्तर्राष्ट्रिय गोलसंख्या १०२ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा धेरै गर्ने खेलाडीको सूचीमा मेसीभन्दा अगाडि इरानका अली दाई र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो छन् । अली दाईले १०९ र रोनाल्डोले १२२ गोल गरेका छन् । 

‘‘मेसीलाई शब्दमा वर्णन गर्न सकिँदैन । उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । हरेक दिन हरेक खेलमा मेसीले आफूलाई प्रमाणित गरेका छन् । प्रत्येक पटक मेसीले बललाई छुँदा उनको मुहारमा मुस्कान छाउँछ,’’ आर्जेन्टिनाका फरवार्ड निकोलस गोन्जालेजले भने । 

यससँगै रोनाल्डो अर्जेन्टिनाबाट १०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कतार विश्वकपको उपाधि विजेता मेसीले गत बिहीबार पानामाविरुद्ध गोल गर्दै व्यवसायिक करिअरमा ८०० गोल पूरा गरेका थिए । ३५ वर्षे मेसीले १७४ खेलमा १०० गोलको कोशेढुंगा पार गरेका हुन् । मेसीले २००६ मार्च १ मा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर