नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्छ : सापकोटा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माओवादी केन्द्रका सांसद माधव सापकोटाले माग गरेका छन् ।
संसद् भवनमा संचारकर्मीहरूसँग कुरा गर्दै सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सांसद सापकोटाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा नाम जोडिएकाले सघाउनुपर्ने बताएका हुन् ।
उक्त प्रकरणमा नाम जोडिएको सार्वजनिक भएकाले आफैं प्रहरीकहाँ गएर बयान दिनुपर्ने, त्यसो नभए प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने सापकोटाको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएको जुनसुकै ओहदाको व्यक्ति तानिए पनि छोड्न नहुने सापकोटाको भनाइ थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सरकारी अधिकारीहरूले निश्चित अवधिका लागि सम्बन्धित पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने पनि सांसद सापकोटाको माग थियो ।
उक्त प्रकरणको छानबिनमा सरकारले दबाब लिन नहुने धारणा सापकोटाको थियो । सरकार ढल्ने भए पनि छानबिनबाट पछि हट्न नहुने सापकोटाको भनाइ थियो ।
प्रतिकृया दिनुहोस