• २०८२ बैशाख २२ सोमबार
  • Monday, 5 May, 2025

युथ भिजन २०३५ का लागि युवा सशक्तिकरणमा जोड

काठमाडौं । राष्ट्रिय युवा परिषदले युथ भिजन २०३५ का लागि सरोकारवालाहरुसंग छलफल प्रारम्भ गरेको छ। सन् २०१५ मा जारी गरिएको थुथ भिजन २०२५ को समयावधि सकिन लागेकाले आउंदो दश वर्षका लागि नयां युथ भिजन निर्माण गर्न छलफल अगाडि वढाइएको परिषदले जनाएको छ।

शनिवार उपत्यकामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युथ भिजन २०२५ को समीक्षा गरी सवै सरोकारवालाहरुसंगको छलफलपछि नयां युथ भिजन जारी गरिने वताए। मन्त्री चौधरीले नेपाली युवाका नयां आवश्यकता र चाहना समेटेर युथ भिजन तयार गरिने वताए।

पहिलो चरणमा उपत्यकाका भर्खरै निर्वाचित स्ववियु अध्यक्ष सहितका पदाधिकारीहरुको सहभागितामा भएको नीतिगत छलफलमा युथ भिजन -२०२५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले ' युथ भिजन -२०३५   मा युवाका सरोकार ' शिर्षकमा कार्यपत्र पेश गरेका थिए। कार्यपत्रमा शाहीले युवाको सर्वाङ्गिण विकास गरी देशको सामाजिक आर्थिक रुपान्तरण मार्फत समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सघाउ पुर्याउने लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय युवा परिषदका पुर्व उपाध्यक्ष समेत रहेका एमाले युवा नेता माधवप्रसाद ढुङ्गेलले युथ भिजन २०२५ को विहङ्गम समीक्षा गरेर मात्र नयां तर्फ अघि वढ्नुपर्ने सुझाव दिए। ढुङ्गेलले नेपाल सरकारका विभिन्न मन्त्रालयमा रहेका युवा लक्षित् कार्यक्रमलाई समन्वय गरेर अघि वढाउनुपर्ने वताए। नेपाली काङ्ग्रेसका युवा नेता नैनसिंह महरले अवको युथ भिजनले नेपाली युवाका आवश्यकतालाई सम्वोधन गर्नुपर्ने वताए। महरले शिक्षालाई श्रम , सिप र प्रविधिसंग जोड्नुपर्ने वताए। 

माओवादी केन्द्रका युवा नेता रमेश मल्लले युवा पलायन रोक्नका लागि उद्यशीलता र स्वरोजगारमा जोड दिनुपर्ने वताए। मल्लले युवाहरुले मुलुक भित्रै भविश्य देख्नसक्ने वातवरण वनाउनुपर्नेमा जोड दिए। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्सालले सवै सरोकारवालाहरुसंगको वृहत् छलफल र अन्तरक्रियापछि समयसापेक्ष युथ भिजन जारी गरिने वताए। 

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिगो विकास लक्ष्य पुरा गर्न युवा सशक्तिकरणमा जोड दिए। वस्नेतले युथ भिजन २०३५ निर्माणको छलफल प्रारम्भ गरिएको जानकारी दिंदै सवै क्षेत्रका युवाहरुसंग फरकफरक छलफल र अन्तरक्रिया गर्ने प्रतिवद्धता  जनाए।

कार्यक्रममा मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटी , परिषद सदस्यद्वय  विनोद शाही र टिका कंडेल , त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्ष दिपकराज जोशी , नेपाल ल क्याम्पसका स्ववियु अध्यक्ष समिर रिजाल, पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष स्वयम् श्रेष्ठ , सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्र ठगुन्ना लगायतका स्ववियु पदाधिकारीहरुले युवामैत्री युथ भिजनमा निर्माणमा आआफना सुझाव र धारणा राखेका थिए।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर