• २०८२ बैशाख २२ सोमबार
  • Monday, 5 May, 2025

दुईतिहाइको सरकार नाङ्गै छ: अमेरशकुमार सिंह

काठमाडौँ । सांसद अमेरशकुमार सिंहले सरकार नाङ्गै रहेको टिप्पणी गरेका छन्। सोमबार (आज) बसेको बैठकमा संशोधन हाल्दै सिंहले यस्तो बताएका हुन्।

'संसद्‌मा एउटा अबोध बालकको आवश्यकता छ। युरोपमा एउटा राजा नाङ्गै हिँडिरहेको थियो तर, उसको डरले कोही पनि भन्न तयार थिएनन् कि राजा नाङ्गै छ। त्यस्तै यो दुईतिहाइको सरकार नाङ्गै छ, नीति तथा कार्यक्रम नाङ्गै छ तर, कोही पनि भन्न तयार छैन कि यो सरकार नाङ्गै छ,' उनले भने।

उनले सरकार दलित, महिला, जनजाति, मधेसीलाई सक्न लागिपरिरहेको पनि आरोपित गरे। 'सरकार गठन भएदेखि साना दलको अस्थित्व खतरामा छ। उनीहरूलाई सक्न लागिपरेको छ। सरकार दलित, महिला, मधेसीलाई समाप्त गर्न गर्न चाहन्छ। यो नीति कहीँ उल्लेख छैन तर, कार्यान्वयन यसैको हुन्छ,' उनले भने।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सरकार मेनस्ट्रिममा नरहेकाहरुको एकतामा बाधक बनेको र षड्यन्त्रपूर्ण ढंगले रेशम चौधरीलाई पक्राउ गरिएको बताएका हुन्।

'प्रधानमन्त्री, गृहमन्त्रीको सहमति भएरै पूर्वसांसदलाई पक्राउ गरिन्छ। वडाध्यक्षलाई गिरफ्तार गर्न त प्रधानमन्त्री गृहमन्त्रीलाई सोधिन्छ भने पूर्वसांसद र पार्टीको संरक्षकलाई पक्राउ गर्न..,' उनले भने।

त्यो कर्मचारीको आबद्धता कुन दलमा छ भन्ने खोजी हुनुपर्ने सिंहले बताए।

चैत १७ गते नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकताका लागि प्रज्ञा भवनमा कार्यक्रम राखिएको थियो। सर्वोच्चबाट अनधिकृत रुपमा पत्र गएपछि प्रहरीले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रज्ञा भवनबाटै पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो।

पत्र अनधिकृत रहेको खुलेपछि चौधरी सोही दिन रिहा भए पनि पार्टी एकता कार्यक्रम स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर