• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ओखलढुंगाको जनता आवास कार्यक्रममा  पहुँचवालाको हालीमुहाली

ओखलढुंगा । ओखलढुंगामा जनता आवास कार्यक्रमको पैसामा कार्यविधि मिचेर हुनेखाने र पहुँचवालालेसमेत घर बनाएको पाइएको छ । सीमान्तकृत, विपन्न, दलित, जनजाति र आवासको समस्या भएकाहरूले घर बनाउनको लागि पाउने तीन लाख ५० हजार रुपैयाँ अनुदान रकममा पहुँचवालाको हालिमुहाली भएको हो ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका हरिबहादुर बानिया अवकाश प्राप्त कर्मचारी हुन् । तर उनले जनता आवास कार्यक्रमअन्तर्गत पाएको अनुदानले घर बनाइरहेका छन्। ज्यामिरेकै कुमार बानिया बहालवाला शिक्षक हुन्। पहिले नै एउटा पक्की घर भएका उनी पनि जनता आवास कार्यक्रमका लाभग्राही हुन्। यी दुई प्रतिनिधि उदाहरण मात्रै हुन्। ज्यामिरेमा निर्माणाधीन ३१ वटा घरका लाभग्राहीमध्ये १० जनाले कार्यविधिविपरीत पहुँचका भरमा अनुदान पाएको आरोप लागेको छ।

घर बिनाको सुकुम्बासी जस्तो हुनु भएछ भन्नुभयो त्यसैले घर बनाएको उल्लेख गर्दै सिद्धिचरण - ९ की लाभग्राही निर्मला वाग्लेले खुशी व्यक्त गरिन् । सोही वडाका लाभग्राही हरिबहादुर बानियाले घर पाइन्छ भन्ने भएपछि वडाको सिफारिस लिएर पेस गरेको जनाए ।

प्रदेश सांसदको संयोजकत्वमा लाभग्राही छनोट गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर छनोटमा परेका लाभग्राहीको सूची सहरी विकास तथा भवन कार्यालयले सिँधै वडामा पठाएर सम्झौताको सिफारिस माग गरेको वडाध्यक्ष गुणकुमार खड्का बताउँछन् ।

कार्यालयका कर्मचारी र विचौलियासँगको मिलेमतोमा लाभग्राही छनोट गरिएको आरोप लागेपनि सम्बन्धित कार्यालयका कर्मचारीले उक्त आरोप अस्वीकार गरेका छन् । वडाबाट सिफारिस आएपछि मात्रै आफूहरुले अन्तिम निर्णय लिइने सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका प्रमुख अनोज श्रेष्ठले जनाए ।

ओखलढुंगामा हालसम्म जनता आवास कार्यक्रमअन्तर्गत तीन सय ६ वटा घर निर्माण भएका छन्। ज्यामिरेमा मात्र नभएर अन्यत्र पनि कार्यविधिविपरीत दर्जनौँ लाभग्राही छनोट भएको स्थानीयको आरोप छ। उजुरी परेपनि यस विषयमा कुनै किसिमको छानबिन र कारबाही भएको छैन। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर