• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

किन बढीरहेको छ ‘वैदेशिक अध्ययन’ शीर्षकमा नेपालबाट बाहिरिने विदेशी मुद्रा ?

काठमाडौँ । वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको छ । पछिल्लो एक महिनामै शिक्षा मार्फत नेपालबाट साढे १० अर्ब बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त चालु आर्थिक वर्ष २०८०र८१ को  साउन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

साउनमा मात्रै विदेश अध्ययनका लागि नेपाली विद्यार्थीले १० अर्ब ७४ करोड ६२ लाख रुपैयाँ लगेका छन् । जुन गत आवको साउनको तुलनामा ५०.७१ प्रतिशतले बढी हो । गत वर्षको साउनमा पनि वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले ७ अर्ब १३ करोड रुपैयाँ लगेका थिए । 


पछिल्लो समय नेपाली विद्यार्थी विदेश अध्ययनका लागि बाहिरिने सङ्ख्या पनि बढ्दो नै छ । विशेषसरि कोरोना महामारीपछि नै यस्तो सङ्ख्या बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्दछ । गत वर्ष मात्रै १ लाख १० हजार २१९ जना विद्यार्थीहरूले एनओसी लिएका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या घटेको छ । तर, विदेश अध्ययन मोह कम भने देखिँदैन । विशेषसरि कक्षा १२ (प्लस टु) र ब्याचलर पढेर विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या निकै बाक्लो रहेको मन्त्रालयले जनाएको छ । विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भएकाले पनि नेपाली विद्यार्थीहरुको विदेश अध्ययन मोह बढ्दै गएको देखिन्छ ।

हाल नेपाली विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, जर्मनी, न्युजील्याण्ड लगायत विश्वका धेरै मुलुकहरूमा अध्ययनका लागि जाने गरेका छन् । विशेषसरि गरी यी मुलुक नै नेपाली विद्यार्थीको रोजाइमा देखिन्छ । पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेको छन् । रोजगारीको नयाँ अवसर र आर्थिक अवस्था बलियो बनाउनै लागि नेपाली विद्यार्थी अध्ययनका लागि ठुलो सङ्ख्यामा बाहिरिएको देखिन्छ । नेपालमा रोजगारीको अवसर नहुनुले पनि विदेशिनेको संख्या दैनिक बढ्दो क्रममा छ । नेपालमा उच्च शिक्षाको गुणस्तरप्रति विश्वास घट्दो छ । अर्को तर्फ अध्ययनसकेपछि पनि रोजगारीको अवसर कम हुने भएकाले पनि भविष्य सुरक्षित बनाउनकै लागि नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको जानकारहरु बताउँछन् ।

गत वर्ष मात्रै वैदेशिक अध्ययन गर्न जोन नेपाली विद्यार्थी मार्फत १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । गत वर्ष औसतमा मासिक ८ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीहरूले लगेको थिए । गत वर्ष २०७९ को साउनमा ७ अर्ब १३ करोड, भदौमा ५ अर्ब ६३ करोड, असोजमा ५ अर्ब १३ करोड र कात्तिकमा ४ अर्ब ७२ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका थिए । यस्तै, मङ्सिर, पुस र माघमा क्रमशः ६ अर्ब २० करोड, ६ अर्ब ५५ करोड र ८ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपछिका महिनामा भने वृद्धि भएको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार  फागुनमा १० अर्ब ९६ करोड  र चैतमा १२ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपछिको महिना अर्थात् गत वैशाखमा  घटेर ७ अर्ब ९५ करोड रुपैयाँ नेपाली विद्यार्थीले नेपालबाट विदेश पढ्नका लागि लगेका थिए । गत जेठमा भने गत आवकै सबैभन्दा धेरै अर्थात् १४ अर्ब ४ करोड रुपैयाँ बाहिरिएको थियो । यता, गत असारमा भने ११ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको थियो ।

हाल नेपालको विदेशी मुद्रा सञ्चिति मजबुत नै छ । पछिल्लो तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२करोड अर्थात् ११ अर्ब ८५ करोड अमेरिकी डलर रहेको छ । विशेषसरि बढ्दो रेमिट्यान्स आप्रवाहले नै यस्तो सञ्चिति बलियो भएको देखिन्छ । गत वर्ष पनि रेमिट्यान्स आप्रवाह २१।२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।चालु आवको पहिलो महिना अर्थात् साउनमा पनि विप्रेषण आप्रवाह अमेरिकी डलरमा २१।५ प्रतिशतले वृद्धि भएको छ । रेमिट्यान्स बढ्नु र आयात घट्नका कारण नै यति बेला विदेशी मुद्रा सञ्चिति बलियो देखिएको छ । तर, वार्षिक तथा मासिक रूपमा शिक्षा मार्फत नेपालबाट बाहिरिने ठुलो रकमले भने असर गर्ने विज्ञहरू बताउँछन् । 

उनीहरूका अनुसार ठुलो मात्रामा यस्तो रकम बाहिरिँदा आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्छ । मूलतः यसले देशको अर्थव्यवस्थापनमा समेत अल्पकालीन तथा दीर्घकालीन रूपमा असर गर्ने उनीहरू बताउँछन् । शिक्षाकै लागि ठुलो रकम बाहिर खर्च हुँदा मुलुकले अन्य क्षेत्रमा गर्ने लगानी अभाव हुन सक्ने समेत बताइन्छ । यसका लागि नेपाली विद्यार्थीहरुलाई सम्भावना देखाईदिने र स्वदेशमै अध्ययन र रोजगारीको वातावरण बनाउन आवश्यक रहेको विज्ञहरु बताउँछन् । यद्यपि, विदेशमा पढ्ने विद्यार्थीहरुलाई स्वदेश फर्किने वातावरण बनाउन आवश्यक रहेको उनीहरु बताउँछन् । यसका लागि सरकारले वैदेशिक अध्ययनमा गएकाहरू विद्यार्थीहरुबाट पैसा, ज्ञान, सीप, प्रविधि भित्र्याउन सक्ने वातावरण बनाउनुपर्ने उनीहरुको तर्क छ । नयाँ जानबाट रोक्ने उपाय खोज्न आवश्यक रहेको उनीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर