• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

यमनमा हूथी विद्रोहीले खसाले अमेरिकी सैनिक ड्रोन

एजेन्सी । यमनका हूथी विद्रोहीहरूले एउटा अमेरिकी सैनिक ड्रोन खसालिदिएको इरान समर्थक हूथी आन्दोलन र अमेरिकी अधिकारीहरूले बताएका छन्।

हूथी फौजले यमनको तटीय क्षेत्रनजिक एमक्यू९ ड्रोन खसालेको एक अमेरिकी अधिकारीले बताए। हूथी सेनाका एकजना प्रवक्ताले पनि त्यसको पुष्टि गरेका छन्।

अमेरिकी साझेदार इजरेल गाजा स्ट्रिपमा हमाससँग युद्धरत रहेका बेला मध्यपूर्वमा इरान समर्थित समूहहरूको गतिविधिबारे वाशिङ्गटन सजग अवस्थामा रहेका बेला त्यस्तो घटना भएको छ।

गत महिना अमेरिकी नौसेनाले यमनबाट इजरेलतर्फ प्रहार गरिएका कैयौँ क्रूज क्षेप्यास्त्र र ड्रोनलाई निस्तेज पारेको थियो।
 
इजरेल-गाजा युद्धका कारण हुनसक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकाले लडाइँमा प्रयोग हुने पानीजहाजसहित सैन्य बन्दोबस्तीका सरसामान मध्यपूर्ववरपर लगेको छ।

त्यस अन्तर्गत यमन र इजरेलको बीचमा पर्ने रेड सीमा अमेरिकी सैनिकहरू सैन्य पानीजहाजमा तैनाथ गरिएका छन्। यमनका हूथी विद्रोहीहरूलाई इरानले समर्थन गर्दै आएको छ र तिनीहरू लामो समयदेखि यमनमा त्यहाँको औपचारिक सरकारसँग लडाइँ गर्दै आएका छन्।

यमन सरकारलाई चाहिँ इरानको प्रतिद्वन्द्वी साउदी अरबले सन् २०१४ देखि समर्थन गर्दै आएको छ। इरान समर्थित अर्को समूह लेबननको हिज्बुल्लाहका उपनेताले यसै साता बीबीसीसँग कुराकानी गर्ने क्रममा गाजामा इजरेलले गरिरहेको सर्वसाधारणको हत्याले मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउन सक्ने बताएका थिए।

शेख नइम कासिमले भनेः “यो क्षेत्रमा धेरै खतरनाक विकासक्रम हुनसक्छन् र तिनका परिणामलाई कसैले रोक्न सक्ने छैन।” यसैबीच अमेरिकाले पूर्वी सिरियामा इरानको 'इस्लामिक रेभोल्युश्नरी गार्ड कोर' ले प्रयोग गर्दै आएको एउटा केन्द्रमाथि बुधवार हमला गरेको जनाएको छ।

इराक र सिरियामा रहेका अमेरिकी फौजहरूविरुद्ध भएका आक्रमणको बदला स्वरूप केही सातायता दोस्रो पटक सो प्रकृतिको हमला गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक अधिकारीले बताएका छन्।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार हमलामा इरान समर्थित समूहका नौजना मारिएका छन्। तर यो सङ्ख्या स्वतन्त्र रूपमा रूपमा पुष्टि गर्न सकिँदैन। -बीबीसीाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर