सुरक्षा रिपोर्टः बल्खुमा ६ हजार, तीनकुनेमा ८ हजार प्रदर्शनकारी !

काठमाडौं । आज मंसिर ७ गते । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा एक आपसका विरुद्ध शक्ति प्रदर्शन गरे ।
युवा संघको नेतृत्व नेता महेश बस्नेतले गरेका थिए । खुबै चर्चा र हल्ला गरिएको प्रदर्शनबारे धेरैले धेरै प्रकारका आँकलन गरेका थिए । सरकारले समेत के के न हुन्छ जस्तो गरी, निषेधाज्ञा र हजारौंको संख्यामा प्रहरी परिचालन गरेको थियो ।
आयोजकहरुले शक्ति प्रदर्शन लाखौंको संख्यामा हुने दावी गरेका थिए । तर आज प्रसाईंले प्रदर्शनगरेको बल्खु र बस्नेतले नेतृत्व गरेको तीनकुनेको अवस्था हल्ला गरिएभन्दा फरक थियो ।
प्रशासनले तीनकुनेको चौरमा कार्यक्रम गर्न अनुमति दिएपनि युवासँघले चौरमा नगरेर सडकमा गर्यो । यसको एउटै कारण थियो, चौरमा गरिएका भए मानिसहरु थोरै देखिन्थे । उता प्रसाईंले पनि जनमत देखाएर सन्देश दिनुको सट्ट ढुंगा, मुडा, इट्ट प्रहार गर्ने र अटेन्सन सिक गर्ने प्रयास गरे । यसको एउटै कारण थियो न्यून उपस्थिति ।
हामीले गरेको अनुगमन र विभिन्न सार्वजनिक मिडियाले सार्वजनिक गरेका तस्वीर तथा भिडियो हेर्दा पनि दुवै प्रशर्दनमा मानिसहरुको उपस्थिति न्यून देखिएको थियो । देखिने गरी तथा नदेखिनेगरी खटिएका सुरक्षा निकायले पनि कार्यक्रबारे आफ्नो अड्डाहरुमा तारन्तार रिपोर्ट बुझाईरहेका थिए । त्यसको रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा समेत पुगिरहेको थियो ।
सुरक्षा निकायले दिउँसो साँढे ३ बजेको हाराहारीमा दिएको रिपोर्ट अनुसार टाउका नै गन्ने हो भने एमाले पार्टी सिंगै लागेका तीनकुनेमा बल्खुको तुलनामा केही धेरै मानिसहरु थिए ।
बैंक तथा वित्तिय संस्थाको ऋण मिनाहा हुन्छ भन्दै मानिसहरुलाई ल्याईएको बल्खुको प्रदर्शनमा मानिसहरु तीनकुने भन्दा कम थिए ।
सुरक्षा रिपोर्टका अनुसार तीनकुनेमा ८ देखि १० हजार मानिसहरु भेला भएका थिए भने बल्खुमा ६ देखि ८ हजार मानिस भेला भएको सुरक्षाकर्मीले रिपोर्ट गरेको श्रोतको दावी छ ।
प्रसाईंले ‘राष्ट्र बचाउ महाअभियान’ को पहिलो दिन पूर्वनिर्धारित सम्बाेधन समेत गर्न सक्ने अवस्था बनेन । प्रशासनले प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्वनिर्धारित तालिका बिथोलियाे ।
सभामा दुर्गा प्रसाईं, केशव पोखरेल र रमा सिंहले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको थियो। राप्रपाका सांसद ज्ञानेन्द्र शाही भने बल्खु पुगेका थिए ।
तीनकुनेमा बस्नेतले भने सम्बाेधन गरे । उनले आजदेखि दुर्गा प्रसाइकाे हावा खुस्किएकाे दावी गरेका थिए ।
बस्नेतले भने, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं । तर, हाम्रो कार्यक्रमविरुद्ध निहु खोजेर आउँछ भने हामी छाड्दैनौं । दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ । म चेतावनी दिन चाहन्छु भोलिदेखि ठीक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’
तस्वीरहरू सेताेपाटीबाट लिइएका हुन् ।
प्रतिकृया दिनुहोस