• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा..’पोखरामा छमछमी नाचे प्रचण्ड 

पोखरा । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्हपख घोषणा समारोह सुरू भयो।

समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। 

‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे। 

धर्मेन्द्र सेवानले आफ्ना दिवंगत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरी...’ सुनाए। गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा...’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे। औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्लिए। समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धाभाव व्यक्त गर्दै आफ्नो प्रस्तुति दिए।

उनले पञ्चेबाजामा ‘माकुरमाकुर घुर...’ र दोस्रो ‘बोलामाया...’ गीत गाएका थिए।

सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसंगीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।

‘प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु,’ सपुतले आग्रह गरेका थिए।

उनको अनुरोधलाई स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे।

गायक सपुतको ‘बोलमाया...’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरुको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो। प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए। सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे। 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि संघ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए।

‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।’

उनले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौं पुरानो सपना पूरा भएको बताए। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक–पटक पहलले सार्थकता पाएको उनको भनाइ छ। प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए।

प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए। प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए। 

सो अवसरमा कास्कीको हेम्जामा जन्मिएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो। यस्तै दिवंगत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो। मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ...’ गीत गाएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर