सरकार जोगाउन पाण्डेले थपे मन्त्री, समाजवादी छाडेका मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

पोखरा । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी त्यागेको भोलिपल्टै दीपक मनाङे मन्त्री बनेका छन्।

समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिएको भोलिपल्टे राजीव गुरुङ अर्थात दीपक मनाङे मन्त्री भएका हुन्। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सोमबार मन्त्रीमा नियुक्त गरेका छन्। मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका हुन्। 

यसअघि यो मन्त्रालयमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली थिए। तर मुख्यमन्त्री पाण्डेले उनलाई बर्खास्त गरिसकेका छन्।

उनी २०७९ को प्रदेश सभा निर्वाचन मनाङ ९ख० बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते आलोकनगरमै आएर एकीकृत समाजवादी पार्टी रोजेका थिए।

उनले आइतबारदेखि नै लागु हुने गरी समाजवादीसँगको दलीय आबद्धता त्यागेको बताएका थिए।

केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका थिए।

फागुन २१ गते बनेको नयाँ गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा गण्डकीमा सरकार बनाउन सहज छैन। 

यदि सरकार बनेन भने गण्डकी प्रदेशसभा विघटन भएर मद्यावधिमा हुने जोखिम छ। मनाङेले आफू मध्यावधिको पक्षमा नरहेको बताउँदै सरकार फेरबदलको खेलमा नलाग्ने उल्लेख गरेका थिए।

मनाङे स्वतन्त्र चुनाव जितेको तीन सातापछि एकीकृत समाजवादी प्रवेश गरेका थिए। तर राजनीतिक समीकरण फेरिएसँगै मनाङेले पार्टी छोडेका हुन्।

नयाँ गठबन्धनले बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई तानेका हुन्। सत्ता जोगाउने कोसिसमा रहेका पाण्डेले मनाङेलाई तानेसँगै राहतको श्वास फेरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर