एमाले खोटाङको अध्यक्षमा देवविक्रमकाे जित

खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी भएका छन् । दिक्तेलमा शुक्रबार साँझ निर्वाचनमार्फत सम्पन्न आठौँ जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १ सय ५२ मतले पछि पार्दै निवर्तमान उपाध्यक्ष राई विजयी भएका हुन् ।

अध्यक्षमा विजयी राईले ३ सय ३९ मत ल्याउँदा दंगालले १ सय ८७ मत मात्र ल्याएको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्षमा राई समूहकै कुमार आचार्य ३ सय ५८ मतसहित विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी उपिनकुमार राईलाई २ सय २४ मतले पछि पार्दै निवर्तमान सचिव आचार्य उपाध्यक्षमा विजयी भएका हुन् ।

पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कार्य समितिको सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । दुवै पक्षमा साझा देखिने राई उपसचिवबाट सचिवमा निर्विरोध चयन भएका हुन् ।

सात जना नेताको प्रतिस्पर्धा भएको उपसचिवमा राजन बञ्जरा विजयी भएका छन् । एकजना खुला उपसचिवका लागि सातजना उम्मेदवारबीच भएको निर्वाचनमा विजयी बञ्जराले १ सय ४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी गीरेन्द्रबहादुर राईले १ सय ३५ मत प्राप्त गरेका छन् ।

चैत–२८ गते एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनमा होमिएको थियो ।

अध्यक्षमा विजयी राईलाई पोलिटब्यूरो सदस्य विशाल भट्टराई लगायतको साथ रहेको थियो भने, पराजित दंगाललाई केन्द्रीय सदस्यहरु उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको थियो थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर