• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

सुपमा सत्ता गठबन्धनलाई काउण्टरः आकस्मिक बैठकमा प्रचण्ड–ओली 

काठमाडौँ । सत्ता गठबन्धनबिच सुदूरपश्चिम प्रदेशमा नाउपा र जसपा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिप्रति कांग्रेससँग मिलेर काउन्टर गठबन्धन निर्माण प्रयास भएको छ ।

त्यसका लागि नाउपाको रेशम पक्ष, कांग्रेस, एकीकृत समाजवादी, राप्रपाका सांसदहरू मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।  

केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिममा अर्कै गठबन्धन बन्न लागेपछि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरू आकस्मिक छलफलमा जुटेका हुन् । 

त्यसका लागि नेकपा (एमाले) को सचिवालय बैठक नै प्रभावित बनेको छ । अध्यक्ष केपी शर्मा ओली लगायतका नेता अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफलमा छन् ।

प्रदेश सरकारको मुख्यमन्त्रीका कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेस गरेका छन् । 

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दिइएको समय आइतबार साँझ ५ बजे सकिँदै छ।

लक्ष्मणकिशोरले आफूलाई नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको समर्थन रहेको दाबी गरेका छन्। 

लक्ष्मणकिशोरले नाउपा संसदीय दल नेता घनश्याम चौधरी (केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठबाट कारबाहीमा परेका) , नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह र एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ सोडारीको हस्ताक्षर भएको पत्रसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको चौधरीको दाबी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर