• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

‘एस भन्ने पार्टीले राजनीतिक कोर्स बिगार्न लाग्यो’: ओली

काठमाडौँ । सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीले अवसरवादी चरित्र देखाएको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकार गठनका क्रममा एकीकृत समाजवादीले कांग्रेस नेतृत्वको समीकरणलाई सहयोग गरेर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा एमालेका अध्यक्ष ‌ओली सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा सत्तारुढ एकीकृत समाजवादीले लिएको नीतिप्रति आक्रोशित बनेका हुन् ।

‘एस भन्ने पार्टी छ एउटा । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामी भन्दा पृथक हुने हो भने, अर्को गुटबाट जाने र कांग्रेससँग नजिक भएर कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई कमजोर बनाउने, यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत हुने । अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्नसक्ने भनेर हिजो मात्रै मुख्यमन्त्रीको दाबी गर्नेकुरा थियो, सुदूरपश्चिममा । एकीकृत समाजवादी के नामको पार्टी, त्यसले अराजनीतिक निर्णय लियो,' ओलीले भने, ‘कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने, एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो । यस्तो नहुनुपर्ने थियो । कम्युनिस्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम चाँहि अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरूलाई कमजोर पार्ने खालको भूमिका बाहिर देखियो, सडकमा देखियो । यसैले कुनै फरक पार्नेवाला छैन ।’

एकीकृत समाजवादीको कदमले सही दिशामा जान लागेको राजनीतिक कोर्समा आशंका पैदा गर्न लागेको पनि ओलीको भनाइ थियो । एकीकृत समाजवादीका नेताहरूले आन्तरिक बैठकहरूमा गर्ने बार्गेनिङ सार्वजनिक भएको पनि उनको भनाइ थियो ।

ओलीले भने, ‘सही दिशामा राजनीति फर्किंदै थियो । अहिले यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरूको आशा पलाउने गरी जनतामा आशंका, अन्यौल र निराशा केही मात्रामा भएपनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो । आन्तरिक रुपमा त्यसका बोली, व्यवहार, बार्गेनिङ सबै त्यस्तै खालको थिए तर हिजो बाहिर नै प्रकट भयो ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर