• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

गृहमन्त्री लामिछानेले दुई करोड लिएको पुष्टि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ ।

गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनी रुपमा रवि लामिछानेको नाममा ऋण प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ ।

जिल्ला अदालतमा पेश गरिएको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरेपनि प्रहरीले लामिछानेसँग सामान्य सोधपुछ समेत पनि गरेको छैन।

उनलाई प्रहरीले अभियुक्त बनाएन भने सरकारी वकिलको कार्यालयले पनि त्यसमा कुनैपनि प्रतिक्रिया नदिई मुद्दा दायर गरेको छ ।

सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दाको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ लगानी भएको देखिएको छ ।

गोरखा मिडिया नेटवर्क त्यही संस्था हो, जसले ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । जसमा रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर थियो ।

सहकारीमा रकम बचत गरेका १८ सय २८ जना बचतकर्ताहरुको उजुरीपछि सहकारीको रकम हिनामिना, अपचलन र ठगीमा इलाका प्रहरी बुटवलले अनुसन्धान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर