• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

प्रचण्ड–खनाल–रञ्जिता भेटः रोकिएला सुदुरपश्चिमको नयाँ गठबन्धन प्रयास ?

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न बालुवाटार पुगे ।

बालुवाटारमा दुई नेताबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । सुदूरपश्चिममा आफ्नो पार्टीले पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने खनालको भनाइ थियो । त्यसो हुन नसके गठबन्धनमा समस्या आउने उनको चेतावनी रहेको स्रोतले जानकारी दिएको छ ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो ।  वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

आजको छलफलमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रहेको र सत्ता सहकार्यमा सुदूरपश्चिम प्रदेशमा देखिएको समस्या समाधान गर्ने विषयम सकारात्मक कुराकानी भएको एकीकृत समाजवादीका नेता खनालले बताए।

जवाफमा प्रचण्डले आज साँझसम्म विवाद मिलाउन प्रयास गर्ने आश्वासन दिएका छन् । प्रचण्डले भने नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सुदूरपश्चिममा सरकार गठनमा समस्या सिर्जना भएको बताएका थिए । प्रचण्डले यो विवादको समाधानका लागि आफूले पनि प्रयास गर्ने बताएका थिए । साथै एकीकृत समाजवादीलाई मिलाउन पनि खनाललाई सुझाएका थिए ।

गठबन्धनमा सुरुमा सुदूरपश्चिममा पहिले एकीकृत समाजवादीले पाउने सहमति भएको भनिएको थियो । तर, उक्त सहमतिबाट प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पछि हटेको भन्दै गठबन्धन टुट्नेसम्मको चेतावनी नेकपा एसका नेताहरूले दिएका छन् ।

विवाद बढ्दै जाँदा सुदूरपश्चिममा नागरिक उन्मुक्तिकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनलाई एमाले, माओवादी केन्द्रले समेथन गरेको छ ।

उता नाउपाकै संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनलाई नेकपा एससहित नेपाली कांग्रेसको समर्थन छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर