• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसलाई नै दिन लागिएको हो ?

File-Photo

धनगढी । संघीय सत्ता गठबन्धनमै कम्पन आएपछि सुदूरपश्चिमको मुख्यमन्त्री दिएर एकीकृत समाजवादीलाई मनाउने कोसिस सुरू भएको छ। सत्ता गठबन्धनका नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी बनाउन जुटेका छन् ।  

नेताहरुबीच नयाँ समझदारी भएपछि यसअघि एकीकृत समाजवादी चालेको कदमबाट पछाडि फर्किने र नयाँ कोर्ष सुरु गर्ने विषयमा छलफल सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भेट भएको थियो । भेटमा प्रधानमन्त्रीले सुदूरपश्चिममा मिलाउने आश्वासन दिएका नेता खनालले जानकारी दिए ।

मुख्यमन्त्री नदिने भएपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीले विद्रोह गर्दै सुदूरपश्चिममा कांग्रेस, राप्रपासहित नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडी सारेका थिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि बिच्किएर उसले कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेको थियो ।

आइतबार प्रदेश प्रमुखले दिएको समयावधि भित्र नागरिक उन्मुक्तिका रशेम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र रञ्जिता पक्षधर कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । लक्ष्मण किशोर चौधरीका समर्थकमा कांग्रेस संसदीय दल, एकीकृत समाजवादी संसदीय दल र राप्रपाले समर्थन गरेका छन् । नागरिक उन्मुक्तिका सातमध्ये पाँच जना सांसद उनको पक्षमा छन् । त्यसरी उनलाई समर्थन गर्ने दल तथा सांसदहरुको संख्या २८ जना पुगेको देखिएको छ ।

अर्कोतिर रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । आफ्नै दल नागरिक उन्मुक्तिबाट उनीसहित दुई जना मात्र छन् । यसरी उनको पक्षमा २३ जनाको समर्थन देखिएको छ । तर एउटै पार्टीबाट दुई जनाको दावी पेश भएको भन्दै प्रदेश प्रमुख निजर मियाँले कानुनी परामर्शका लागि समय चाहिने भन्दै मंगलबार निर्णय दिने दलहरुलाई बताएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर