• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

सुपमा गठबन्धनका दीर्घ सोडारी मुख्यमन्त्री बन्दै, नाउपाको पनि समर्थन

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले पाउने लगभग निश्चित भएको छ । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर सत्ता गठबन्धनको संकट टार्न नागरिक उन्मुक्ति पार्टी नाउपा समेत तयार भएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले एसलाई मुख्यमन्त्री दिएर पनि भए सत्ता गठबन्धनको संकट टार्न सकारात्क रहेको संकेत गरेकी छन् । उनले भनिन्, ‘एउटा प्रदेशको विवादलाई लिएर सबैतिर संकट आउनुभन्दा समझदारीमा जानुपर्छ भन्ने मान्यता हामीले राख्छौँ ।’

उनले सुदूरपश्चिमको मुख्यमन्त्री एसलाई दिनेबारे छलफल चलिरहे पनि अन्तिम टुंगो भने लागिनसकेको बताउकी छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नाउपाका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । अब एसका नेता दृघ सोडारीलाई मुख्यमन्त्री बनाउन कानुनी उपाय खोजी भइरहेको छ ।

एसलाई मुख्यमन्त्री दिन नाउपाको रञ्जिता पक्ष सहमत नभए रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री हुने लगभग पक्का थियो । तर, आफूले मुख्यमन्त्री पाउने भएपछि एसले लक्ष्मणकिशोरका लागि पेस गरेको दाबी फिर्ता लिने तयारी गरेको छ । एस संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा आफै दाबी पेस गर्ने गरी तयारी गरिरहेका छन् । एमाले, माओवादी र एस र नाउपाको रञ्जिता पक्ष मिलेमा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ ।

सुदूरपश्चिममा प्रदेश प्रमुखले सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गर्दा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले र एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका थिए । एकै पार्टीका दुई जनाको दाबी परेपछि कानुनी परामर्श गर्ने भन्दै प्रदेश प्रमुख मियाले निर्णय दिएका थिएनन् । एकीकृत समाजवादीले एमाले–माओवादी गठबन्धनलाई साथ नदिएर कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको थियो ।

सुदूरपश्चिमको उक्त विषयले केन्द्रसम्म तरंग सृजना गरेपछि नयाँ राजनीतिक परिदृष्य देखिएको हो । 

मंगलवार धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुुक्तीको एक पक्षसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई सर्मथन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीले यसअघि मुख्यमन्त्री पदमा लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले सोडारी मुख्यमन्त्री हुने सहमति पछि समर्थन फिर्ता लिन प्रदेश प्रमुखसमक्ष पत्र पठाएको जानकारी दिए ।

‘समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई दिनुभयो, प्रदेश प्रमुखले के गर्नुहुन्छ भन्ने बाँकी छ,’ उनले भने । बालुवाटारमा आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीबीच छलफल भएको थियो । बालुवाटार छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति जुटेको खनालले बताएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गत चैत २२ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मियाँले मुख्यमन्त्री दावी पेश गर्न आइतबार बेलुका ५ बजेसम्मको समय दिएका थिए । संवैधानिक व्यवस्था अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश प्रमुख मियाले दिएको समयभित्र उन्मुक्तिका दुई जनाको दाबी परेको थियो ।

आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दावी पेश गरेका थिए । कैलाश नागरिक उन्मुत्ति भित्र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर