• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

छक्काको बर्षा सङ्गै वरीयतामा छलाङ मारे दीपेन्द्रले

काठमाडौं । एसीसी टीट्वेन्टी प्रिमियर कप क्रिकेटअन्तर्गत कतारविरुद्धको खेलमा लगातार ६ छक्का प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयतामा पनि छलाङ मारेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको टीट्वेन्टीतर्फको अलराउन्डरमा दीपेन्द्रले छलाङ मारेका हुन् । 

एसोसिएटतर्फका अलराउन्डरमा शीर्ष स्थान हासिल गरेका दीपेन्द्रले १४ स्थान सुधार गर्दै ११औं स्थानमा उक्लिएका छन् । यसअघि उनी आईसीसीको वरीयतामा २५औं स्थानमा थिए । दीपेन्द्रले टीट्वेन्टी ब्याटरतर्फ पनि १६ स्थान सुधार गरेका छन् । उनी टीट्वेन्टी ब्याटरको सूचीमा ६१औं स्थानमा छन् । टीट्वेन्टी ब्याटरको वरीयतामा कप्तान रोहितकुमार पौडेल ५४औं स्थानमा छन् । उनी दुई स्थान तल झरेका हुन् ।

टीट्वेन्टीतर्फको अलराउन्डरमा एसोसिएट राष्ट्रबाट दीपेन्द्रपछि नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा छन् । वरीयताको शीर्ष १० मा भने टेस्ट राष्ट्रका खेलाडीको बाहुल्यता छ । टीट्वेन्टी अलराउन्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा छन् । 

दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रोपटक हो । यसअघि चीनको हाङआचोमा गत असोजमा भएको १९औं एसियाली खेलकुदमा उनले मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक बनाउने क्रममा दुई ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने यो पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने दीपेन्द्र पाँचौं खेलाडी हुन् । यसअघि दक्षिण अफ्रिकाका हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्स, सन् २००७ मै भारतका युवराज सिंहले टीट्वेन्टी विश्वकपमा इङ्ल्यान्ड, वेस्ट इन्डिजका काइरन पोलार्डले श्रीलंका र अमेरिकाका जसकरण मलहोत्राले पपुवा न्युगिनीविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । युवराज सिंह र काइरन पोलार्डले टीट्वेन्टी र हर्सल गिब्स र जसकरण मलहोत्राले एकदिवसीय क्रिकेटमा ६ छक्का प्रहार गरेका हुन् ।

टीट्वेन्टी अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल २७औं स्थानमा छन् । उनले पाँच स्थान सुधार गरेका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल भने ६ स्थान खस्किँदै ६२औं, गुलशन झा ६९औं र करण केसी तीन स्थान खस्किँदै ८०औं स्थानमा छन् । टीट्वेन्टी ब्याटरमा ओपनर आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औं र नौ स्थान सुधार गर्दै कुशल मल्ल १००औं स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर