• २०८१ बैशाख २५ मंगलबार
  • Tuesday, 7 May, 2024

सकियो एक महिना चल्ने नुवाकोटको सिन्दूरे जात्रा (फाेटाेफिचर)

नुवाकोट । नुवाकोट दरबार परिसरमा बर्सेनि आयोजना हुने शताब्दिऔं पुराना जात्राहरूमध्ये सिन्दूरे जात्रा पनि एक हो। बिहिवार यो जात्रा हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रा फागु पूर्णिमादेखि सुरू भएर महिना दिनसम्म चल्ने गर्दछ ।

बैशाख ११ गत्र मंगलवार मध्यरातमा देवीघाट पुगेका धामी (हरिमान सिंह डङ्गोल, भैरबी मन्दिरका पुजारी) ले  करिब २४ घण्टाको बसाइँमा बिहान विशेष पूजाआजासहित जालपा मन्दिर (देवी भैरबीको दिदी) परिसरमा सरकारी तथा गड्खार (प्रायः राई जाती बस्ने स्थान) बाट प्राप्त जिउँदो पशुचौपायाको भोग ग्रहण गर्दछन । र अन्तमा माछाको भोग दिइन्छ । 

जुन भोग खानुभन्दा केही समय अघि तादी र त्रिशूलीको संगम स्थल (गण्डक) मा जाल थापेर समातिन्छ । धामीले भोगको समयमा रगत पिउन झम्टेको रोचक दृश्य हेर्न भक्तजनहरुको भिड लाग्ने गर्दछ ।  

देवता चढेको धामीबाट आउदो सालमा देशमा हुने घटनाक्रमका भविष्यवाणी गरिन्छ। सोही स्थानबाट मध्यरातमा यो यात्रा नुवाकोट भैरबी मन्दिर तर्फ लावालस्कर अघि बढेर बट्टारबाट उकालो लागि बनमा सरकारी भोज खाएर बस्ने प्रचलन रहेको छ । 

आ–आफ्ना भाकल पूरा हुने विश्वासका साथ भैरवीको रथमा रहेका देवीदेवतालाई कुखुरा बलि चढाउने गरिन्छ।

देवीघाटबाट फर्किएका धामी र भैरवीको रथ नुवाकोटको भैरवी मन्दिरको दक्षिणतर्फ महेश मर्दिनीको प्राङ्गणमा आएपछि सरकारका प्रतिनिधि द्वारे (महेन्द्र कुमार शाही) ले धामी र धमिनीलाई  सिन्दुर हालेर सिन्दुर जात्रा गरिएको हो ।

खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरू सहित नेपाली सेनाको बिशेष ब्यान्ड बाजा, धिमेबाजा तथा भैरबी बाजाका साथ चिराग बाली यो यात्रा देबि भैरबी मन्दिरको दक्षिणतर्फ रहेको महेश मर्दिनी मन्दिर्को प्राङ्गणमा गएर सरकारी प्रतिनिधिको रुपमा सिन्दुर लगाएर जात्रा मनाउने गरिन्छ । 

बाटोमा पर्ने स्थानहरूमा रथको तथा जीवित देवताको रूपमा पुजिने धामीधमिनीको दर्शन तथा पूजा गर्न भक्तजनहरूको भीड लागेको थियो ।

नुवाकोट जिल्लाका सम्पूर्ण सरकारी कर्मचारी तथा प्रमुखसहित जात्रास्थलमा उपस्थित भएर सिन्दूर खेलेर जात्रा मनाएका छन् ।  नेपाली सेनाले १२ तोपको सलामी (भैरबी र निशान) अर्पण गरेका थिए । यस जात्राको अवधिभर नेपाल प्रहरीको सुरक्षा पनि रहेको थियो ।

जात्रामा देवताका खटलाई घुमाउँदै एक अर्कालाई सौहार्द्धपूर्ण रुपमा सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

समाजमा युवापुस्ताको जमात भेटिन गाह्रो परेको अवस्थामा सीमित ब्यक्तिहरुको लगाभका कारण तथा बाहिरी जिल्लाबाट जात्रा हेर्न आउदा रौनक बढेको स्थानीयहरु भनाइ रहेको पाइन्छ । यस्ता जात्रा तथा पर्वहरुको संरक्षण र सम्बर्द्धन गर्न स्थानीय स्तरबाट आवाज उठाउनु पर्ने बेला भएको छ । 

प्रस्तुतीः रिना खनाल, फोटोः सुबास श्रेष्ठ, क्राम्पोन्स पौडेल 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर