• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

बालमन्दिरको ५२ रोपनी बैंकमा राखेर कसले खायो करोडौं ?

काठमाडौं । टंगालस्थित नेपाल बाल संगठनको जग्गा २५ वर्षअघि नै बैंकमा धितो राखेर कर्जा लिएको खुलेको छ ।

२०५६ भदौ २७ मा ५१ रोपनी १३ आना ३ पैसा जग्गा नेपाल बैंकमा धितो राखेर कर्जा लिएको भेटिएको हो । जग्गा अहिलेसम्म मालपोत कार्यालय डिल्लीबजारले रोक्का राखेको छ ।

बालमन्दिरको जग्गा धितो राखेर दिइएको कर्जाको विवरण भने बैंकबाट आउन बाँकी रहेको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार कुन प्रयोजनका लागि धितो राखियो भन्ने अभिलेख र कारोबारको विवरण भेटिएको छैन । त्यस्तै २०५० जेठ ५ मा पनि मालपोतले बालमन्दिरको थप २९ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा रोक्का राखेको देखिन्छ ।

यसरी जग्गा बैंकमा राखेर कर्जा लिएको र कर्जाको अभिलेखमा हिसाबकिताब नहुनुले ३ दशकअघिबाटै जग्गा मास्ने खेल सुरु भएको स्पष्ट हुन्छ ।

पञ्चायतकालमै सरकारीरसार्वजनिक प्रयोजनका लागि व्यक्तिबाट अधिग्रहण गरी ल्याइएको ऐतिहासिक पृष्ठभूमिको यो जग्गा चरणबद्ध रूपमा हडप्ने–खानेमास्ने योजनाअनुसार बैंकमा धितो राख्नेदेखि शंकास्पद रूपमा लिजमा लगाउनेसम्मका गतिविधि भएको भन्दै यसको निष्पक्ष अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने न्यौपानेले बताइन् ।

बालमन्दिर राणा प्रधानमन्त्री भीम शमशेरकी पत्नी ‘सीता महारानी’ का नामबाट राखिएको राणाकालीन दरबार ९सीता भवन० का नामले चिनिन्छ । २०२१ मंसिरअघिसम्म यसको १ सय १९ रोपनी भीम शमशेरका खलकहरूको भोगचलनमा थियो ।

सरकारी–सार्वजनिक प्रयोजनका लागि भन्दै त्यसबेला सरकारले विभिन्न ६ वटा राणाकालीन दरबार र त्यसले चर्चेका सबै जग्गा मुआब्जा दिएर अधिग्रहण गर्ने निर्णय गरेको थियो ।  

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनले आन्तरिक छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि यो विषयमा अनुसन्धान भइरहेको छ ।

आन्तरिक छानबिन तथा जग्गा हिनामिनाको खोजबिन गर्ने क्रममै संगठनले सरकारी अभिलेखमा बालमन्दिरको जग्गाको अवस्था के–कस्तो छ भनेर मालपोत कार्यालय डिल्लीबजारलाई बिहीबार पत्र पठाएको थियो ।

त्यसको शुक्रबार जवाफमा दिँदै डिल्लीबजार मालपोत कार्यालयले नेपाल बैंक र बाल संगठनबाहेक राष्ट्रिय सतर्कता केन्द्रले पनि १५ रोपनीबाहेक सबै जग्गा २०६९ असोज २ मा रोक्का राखेको जानकारी संगठनलाई गराएको छ ।–कान्तिपुरबाट 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर