• २०८१ असार २० बिहीबार
  • Thursday, 4 July, 2024

टर्यो सत्ता संकट, प्रचण्डले भनेः हल्लामा सत्यता छैन

काठमाडौं । सरकार ढाल्ने र नयाँ समिकरण बन्ने केही दिन यताको चर्चा अन्ततः समाधानको बिन्दुमा पुगेको छ । प्रधानमन्त्री निकटका नेताहरुका अनुसार आज एमाले अध्यक्ष केपी ओलीसँग भएको छलफल पछि सत्ता समिकरणमा देखिन खोजेको संकट तत्कालका लागि टरेको हो । 

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई सरकार ढालेर कांग्रेससँग मिलेर बनाउन चाहेका हो भने आफू प्रतिपक्षमा बस्न तयार रहेको बताएका थिए । 

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार एमाले अध्यक्ष ओलीले गठबन्धन तोड्न लागेको कुरा अस्वीकार गरे । 

कम्यूनिष्ट एकतातर्फ देशलाई लैजाने, राष्ट्रियता बलियो बनाउने, सुशासन र समृद्धिको यात्रामा जाने हो भने यही गठबन्धन बलियो बनाएर जाऔं बरु सरकारमा तपाईंलाई रुची हो भने म छोडिदिन तयार छु ।

अन्यथा कांग्रेसँग मिल्न जानुहुन्छ भने म विपक्षमा बस्न तयार छु भनेपछि ओलीले यही गठबन्धनलाई निरन्तरता दिने कुरा गर्नुभएको हो,’ स्रोतले समाचार दैनिकलाई भन्यो ।

आज सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा तीन घण्टा लामो छलफल गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले सरकार केही नहुने दाबी गरेका थिए ।

माओवादी उपमहासचिव एबं उर्जामन्त्री शक्ति बस्नेतले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले समीकरण फेरिने चर्चाबारे उल्लेख गर्दै हाल त्यस्तो केही नहुने बताएको बताए ।

बैठकमा एमालेका नेताहरुले आफ्नो पार्टीका तर्फबाट गठबन्धनमा कुनै समस्या नभएको र सरकारको निरन्तरता हुने, बाहिरी हल्लामा सत्यता नभएको ब्रिफिङ गरेका थिए । 

प्रचण्डले सोमबार बेलुका माओवादीका केही पदाधिकारीसँग भएको भेटमा कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भए पनि तत्काल स्वीकार नगरेको बताए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार श्रीमती आरजुसहित बालकोट निवासमा ओलीसँग भेटवार्ता गरेका थिए । 

मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी थिइन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर