• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

माधव नेपालनै एसको सर्वसम्मत अध्यक्ष, घनश्याम किन पछि हटे ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनले अन्ततः माधवकुमार नेपाललाइ नै सर्वसम्मत अध्यक्ष बनाउने भएकाे छ । नयाँ नेतृत्व चयनमा केन्द्रित राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत बन्ने भएका छन् ।

बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू रातभर सर्वसम्मतिको प्रयासमा जुटेका थिए । अध्यक्षको प्रतिष्पर्धी रहेका घनश्याम भुसाललाई महासचिव बनाएर माधव नेपाललाई अध्यक्ष सर्वसम्मत बनाउने प्रयास भएको थियो । महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा अधिक देखिएपछि भुसालले वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको दाबी रहेकाले उनलाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको छ ।

यद्यपि भुसालले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको स्रोतले जनाएको छ । महासचिव नै भए पनि वरियतामा सम्मानित नेताभन्दा पछि रहने अवस्थामा भुसालले माधव नेपाललाई समर्थन जनाउने भएका छन् । नेकपा एसका पदाधिकारी सर्वसम्मति पछि केन्द्रीय सदस्यहरूको मनोनयनपत्र दर्ता गराएर नेतृत्वले सर्वसम्मत गराउने तयारी छ ।

१६ गतेदेखि शुरु भएको महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सात जना रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । अध्यक्षमा सहमति भएमा अन्य पदमा पनि सहमतिमै नेतृत्व चयन गरिने सम्भावना देखिएको छ ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबार तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ । केन्द्रीय समितिको बनावट बारे पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ ।

निर्देशिकामा एकीकृत समाजवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा हरेक जिल्लाबाट एक जना, प्रदेशबाट २५ सय संगठित सदस्यबाट एक जना, समावेशी क्षेत्रबाट ७० जना, पदाधिकारीसहित खुलाबाट ८० जना, भूगोल लगायत विभिन्न कार्यक्षेत्र, समवेशी र खुला निर्वाचन क्षेत्रबाट निर्वाचन गर्दा ३३ प्रतिशत महिलालाई आरक्षण गर्ने उल्लेख छ ।

त्यस्तै महिला लगायत सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५ देखि ४५ बर्ष उमेर समुहलाई आरक्षण गर्ने निर्देशिकामा उल्लेख छ । निर्देशका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कोशी र मधेश प्रदेशबाट २१–२१ जना, बागमती प्रदेशबाट २३ जना, गण्डकीबाट १५ जना, लुम्बिनीबाट १८ जना, कर्णाली प्रदेशबाट १९ जना, सुदूरपश्चिमबाट १६ जना, पेशागतबाट ६ जना, सम्पर्क समितिबाट ८ जना, भारत प्रवासबाट एक जना, समावेशीबाट ७० जान र खुलाबाट ८० जना गरी २९९ जना आउने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर