• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

एम्बाप्पेकाे फ्रान्सलाई स्तभ्द पार्दै स्पेन फाइनल प्रवेश

काठमाडौं ।युवा जाेश र टिम स्पिरिटले भरिएकाे स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

जर्मनकाे म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी थिए १६ वर्ष ३६२ दिनका लामिन यमाल । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो । याे गाेलसँगै उनी युराे कपमा गाेल गर्ने सबैभन्दा कान्छाे खेलाडीकाे रेकर्ड राख्न पनि सफल भए ।


२५औं मिनेटमा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो । उनले बललाई सुन्दर ढंगले बल नियन्त्रणमा लिएर गरेको शक्तिशाली प्रहार फ्रान्सेली डिफेण्डर कुण्डेलाइ लागेर गोलमा परिणत भएको थियो ।

त्यसपछि खेलमा कुनै गोल भएन र स्पेन फाइनलमा पुग्न सफल भएको छ ।

स्पेनले अब भोली हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा जारी युराे कपमा अपराजित छ । 

तीन पल्टको च्याम्पियन स्पेन युरो इतिहासमै लगातार 6 खेल जित्ने पहिलो टिम बनेको छ र अब चौथो उपाधिबाट एकै खेल मात्र टाढा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर