• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

माओवादी दलको बैठकमा प्रचण्डले भनेः ‘देउवाले सत्य बोले, ओलीले ढाँटे’

काठमाडौं । सरकारबाट बाहिरिने संघारमा पुगेको दल नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रमको प्रारम्भिक समिक्षा गरेको छ । पार्टी संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले राजनीतिको पछिल्लो अवस्थाको समिक्षा गरेको हो । 

विकसित भएको घटनाका विषयमा प्रधानमन्त्रीसमेत रहेका दलका नेता पुष्पकमल दाहाल प्रचण्डले ब्याख्या गरेपछि अन्य सांसदहरुले धारणा राखेका थिए । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बताएका हुन् ।

एमाले अध्यक्ष ओली कांग्रेससँग मिल्दा माओवादीलाई घाटा भने नभएको बताए । 'हामीले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले नै एमालेसँग मिलेका हौं । केपी ओलीलाई नबुझेको थिएन तर मान्छे हो, हन्डर खाएर रुपान्तरित भए कि भन्ने भ्रम पर्‍यो,' प्रचण्डले सांसदहरूलाई भनेका थिए, 'यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन ।'

एमालेबाट सभामुख बनेका देवराज घिमिरेले प्रतिनिधिसभा सचिवमा पूर्वसचिव सुरेश अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेबाटै गम्भीर संकेत भने मिलेको प्रचण्डले बताएका थिए । एक सांसदका अनुसार ओलीलाई प्रधानमन्त्री पद नै चाहिएको भए तत्काल छोडिदिन्छु वामपन्थी गठबन्धन कायम राख्न प्रस्ताव राखेको प्रचण्डले जानकारी दिएका थिए ।

ओलीले सहमति भएको कुरा अस्वीकार गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको प्रचण्डले बताएका छन् । 'फोनमा कुरा हुँदा शेरबहादुर देउवाले सहमति भएको स्वीकारे,' दाहालको भनाइ थियो ।

माओवादी सरकार छोड्नुपर्दा पनि उत्साहित देखिएको तर कांग्रेस र एमालेमा सरकार बनाउने बेला पनि उत्साह नदेखिएको प्रचण्डको भनाइ थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक समाचारमा सत्यता नभएको प्रधानमन्त्रीले जानकारी गराएको बताए । 

‘असार १७ गते प्रचण्ड र ओलीबिच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले ३ जना नेता बसौँ भन्नुभयो । मैले केपीजी ३ जना बसौँ भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँटछल भयो ।’

पाण्डेले पूर्वतयारी अनुसार नै प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भन्दै आफ्ना सांसदहरूलाई ह्विप जारी गर्ने र पक्षमा मत दिन निर्देशन दिने तथा अन्य दल र स्वतन्त्र सांसदलाई मत दिन आव्हान गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर