• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

संसदमा विश्वासको मत मागेका ओली संसदबाटै गाएब !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदमा बोल्दै थिए । प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा विश्वासको मत मागेपछि भएको छलफलमा ओली नै नदेखेपछि उनले सुरुमै कटाक्ष गरे । 

ओलीमा अरुका कुरा सुन्न सक्ने क्षमता नभएको भन्दै टिप्पणी गरे । 

‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिकरूपमा बधाई ज्ञापन गर्न चाहन्छु। मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ। तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो। उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ,’ उनले भने।

‘सत्ता प्राप्तिका लागि अनेकौं खेलोफड्को गर्ने अनि राजनीतिक अस्थिरताको दोष व्यवस्थालाई दिनेकुरा किमार्थ उचित होइन । फ्रान्सको एक मिडियाले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर समाचार छापेको छ । सो मिडियाले भनेजस्तै हामी पछिल्लो १४ वर्षमा १५ औं प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धि प्रश्तावमा छलफल गर्दैछौं । तर मनसुन, बाढी, पहिरो र डुवानले हार गुहार गरिरहेका जनताप्रति बेखवर जस्तै छौं,' नेपालले भने, 'पीडितको उद्दार, राहतमा अहोरात्र खटिनुपर्नेमा आज हामी के गरिरहेका छौं ? ठिक यस्तो बेला सरकारको परिवर्तन गर्नु आवश्यक थियो कि थिएन ? जनताले प्रश्न गरेका छन– संसदीय लोकतन्त्रमा प्रतिनिधि सभाको पहिलो र दोस्रो दलको सरकार विरलै देख्न पाईन्छ । एउटाले सरकारमा रहँदा अर्कोले प्रमुख प्रतिपक्षको रुपमा सरकारको खवरदारी गर्नुपर्ने हुन्छ । मध्यरातको अपारदर्शी सम्झौताबाट बनेको यो अप्राकृतिक गठबन्धनको उद्देश्य र औचित्यलाई कसरी पुष्टि गर्न सकिन्छ ? पक्कै पनि यो कुनै राम्रो संकेत देखिँदैन ।’

नेपाल मात्र होइन त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा प्रधानमन्त्री ओलीको खोजी गरे । 

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्दा नै प्रधानमन्त्री हिँडिसकेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बोले।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनुभएको होला, उहाँलाई बधाई दिन चाहन्छु’ भन्दै कटाक्ष गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर