• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

९ वटा राज्यले गर्नेछन् अमेरिकामा आगामी राष्ट्रपतिबारे निर्णय

अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ५ तारिख मंगलबार आमचुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले नयाँ राष्ट्रपति छान्नेछन् । जुन चुनावी प्रकृयामा झण्डै १ लाख नेपाली अमेरिकनहरु पनि मतदानका लागि योग्य छन् । त्यसैले अमेरिकामा रहेका नेपाली र नेपाली अमेरिकनहरुले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन् ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग १ लाखको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । चुनाव भन्नासाथ अत्याधिक चासोका साथ हेर्ने नेपालीहरु अमेरिकी राष्ट्रपतीय चुनावमा पनि सकृय रुपमा सहभागी हुँदैछन् ।

अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ । हरेक राज्यका लागि इलेक्टोरल मतभार फरक फरक तोकिएको हुन्छ । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ । ५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ । तर अमेरिकाका केही राज्यहरु त्यस्ता राज्यहरु छन् जसले पटकपटक आफ्नो चुनावी परिणाम बदल्ने गरेका छन् । त्यसैले अमेरिकी राष्ट्रपति चुनाव कस्ले जित्छ भन्ने कुराको निर्धारण यी राज्यहरुको चुनावी परिणाममा निर्भर गर्ने गरेको छ ।

२०२० को चुनावी परिणाम र अहिलेको मत सर्वेक्षण हेर्दा ९ वटा राज्यहरु मिनेसोटा, भर्जिनिया, विसकन्सिन, पेन्सिलभेनिया, मिसिगन, नर्थ क्यारोलिना, एरिजोना, जर्जिया र नेभाडामा सबैको ध्यान केन्द्रीत भएको छ । यीबाहेक अन्य राज्यको विगतको इतिहास, मत परिणाम र सर्वेक्षण हेर्दा डेमोक्रेटिक उम्मेदबारले २०३ र रिपब्लिकन उम्मेदबारले २१९ इलेक्टोरल भोट जित्ने लगभग सुनिश्चित देखिन्छ । त्यसैले डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदबारलाई चुनाव जित्न यी ९ राज्यबाट थप ६७ इलेक्टोरल मत प्राप्त गर्न आवश्यक हुन्छ भने रिपब्लिकन उम्मेदबारलाई ५१ इलेक्टोरल मत प्राप्त गर्न आवश्यक हुन्छ ।

हालैको सर्वेक्षणलाई आधार मान्दा मिनेसोटा र भर्जिनियामा डेमोक्रेटिक उम्मेदबारको अग्रता रहेको छ । मिनेसोटामा अहिलेसम्म डेमोक्रेटिक उम्मेदबारले नै जित्दै आएका छन् भने भर्जिनियामा २००४ सम्म रिपब्लिकन उम्मेदबारले र त्यसपछि डेमोक्रेटिक उम्मेदबारले जित्दै आएका छन् । तर यी २ राज्यको इलेक्टोरल मतभार १० र १३ गरी २३ मात्र हुन्छ भने यी २ राज्यमा जित्दा डेमोक्रेटिक उम्मेदबारको इलेक्टोरल मत जम्मा २२६ हुनजान्छ । पछिल्लो सर्वेक्षणमा बाँकी ७ वटा राज्यमा रिपब्लिकनहरुको अग्रता भएकाले ती सातवटै राज्यमा रिपब्लिकनले जितेमा कुल मतभार ३१२ हुन जान्छ । जुन राष्ट्रपति चुनाव जित्नका लागि प्रयाप्त रहेको छ । तर मार्जिन कम भएका विसकन्सिन, पेन्सिलभेनिया र मिसिगनमा डेमोक्रेटिक पार्टीका उम्मेदबारले जितेको खण्डमा भने डेमोक्रेटिक पार्टीका उम्मेदबारलाई २७० इलेक्टोरल मत प्राप्त हुन्छ, जुन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि प्रयाप्त छ ।

१५ इलेक्टोरल मतभार रहेको मिसिगनमा २०१६ मा ट्रम्पले जितेपनि २०२० मा बाइडेनले जितेका थिए । २०१६ अगाडिका ७ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए । त्यस्तै १९ इलेक्टोरल मतभार रहेको पेन्सिलभेनियामा पनि २०१६ मा ट्रम्पले र २०२० मा बाइडेनले जितेका थिए । तर २०१६ अगाडिका ६ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए । १० इलेक्टोरल भोट रहेको विसकन्सिनमा पनि २०१६ मा ट्रम्पले र २०२० मा बाइडेनले जितेका थिए । तर २०१६ अगाडिका ७ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर