केरलामा पहिरोः २५० को मृत्यु, २० फिट पानीमा डुब्यो गाउँ
एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ । १३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।
सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको हो । पहिरोले घर, पुल, सडक र सवारी साधनहरू बगेका छन् ।
सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्। राति अबेरसम्म १ हजारको उद्धार, ३ हजारलाई राहत शिविरमा पठाइएको छ ।
गृहमन्त्री अमित शाहले बुधबार संसदमा केरला सरकारलाई २३,२४ जुलाईमा नै सतर्क गराइएको र सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने बताएका थिए।
मुण्डक्काई गाउँबाहिर रहेको इला रिसोर्ट र वाना रानी रिसोर्टमा अलपत्र परेका १९ पर्यटकको बुधबार सेनाले उद्धार गरेको हो । घटनापछि उनीहरू यहाँ अलपत्र परेका थिए । डिफेन्स पीआरओका अनुसार १२२ इन्फन्ट्री बटालियन (टीए) मद्रासका सेनाले सबै नागरिकहरूलाई चुरलमालासम्म निकाल्न डोरीको सहायताले मानव पुल बनाएका थिए।
दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ । जुलाइ ३० मा १२ जिल्लामा विद्यालय–कलेज बिदा दिइएको छ । केरला विश्वविद्यालयले जुलाई ३० र ३१ मा हुने भनिएको सबै परीक्षा स्थगित गरेको छ ।
प्रतिकृया दिनुहोस