• २०८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024

झापा पुगेर प्रचण्डले भनेः सुशासनको सुई बालकोट र बुढानिलकण्ड सोझिएपछि सरकार ढाले

 झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले चालेको सुशासनको अभियानका कारण सरकार ढालेको तर्क गरेका छन् ।

गिरीबन्धु चिया बगान लगायतका विषयमा सरकारले छानविन थालेको र त्यसको सुई बुढानिलकण्ठ र बालकोट तर्फ सोझिएपछि सरकार ढाल्न कांग्रेस र एमाले तयार भएको बताए । 

'गिरीबन्धु चियाबगानका विषयमा कांग्रेस र एमालेले एकले अर्कालाई जग्गा खायो भनेका थिए । अहिले यी दुवै भ्रष्टहरु मिलेका छन् । संयोगले म आज यही जमिनमा आएर र ज्ञापनपत्र पनि बुझें । अब झापाका जनताले प्रतिक्रान्तिकारी दलाललाई छुट दिने छैनन भन्ने प्रष्ट संकेत मैले देखें’ प्रचण्डले भने । 

उनले माओवादी पार्टी अव २०६४ भन्दा माथि जाने दावी पनि गरे । त्यसको संकेत झापामा देखिएको उनको भनाई छ । अहिले सरकारमा जानेहरु थरथर काम्दै गएको र सरकारबाट बाहिरिएको माओवादी गर्जनसहित बाहिरिएको बताए । 

सुरुपमा दुईतिहाई सरकारले जे पनि गर्न सकिन्छ जस्तो गरेको तर अहिले डराएको बताए । 

यो सरकार देशलाई प्रतिगमत तर्फ लाने जालसाजीका आधारमा बनेको र बंगलादेशको सरकार पनि दुई तिहाईको सरकार ढलेको उनको भनाई छ । 

अध्यक्ष प्रचण्डले यो पटक माओवादी नेतृत्वको सरकारले राम्रो गर्न खोज्दाखोज्दै ढालिएको बताउँदै इतिहासको यो जिम्मेवारी पूरा गर्न माओवादीलाई आएको र जनतातर्फ फर्किएर सच्चिदै माओवादीले सडक र सदनबाट पहल लिन मेहनत गर्ने जानकारी गराए । 

त्यसअघि उनले गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ बिघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताएका थिए । 

आइतबार बिहान सोही ५१ बिघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीयवासीको ज्ञापन पत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए । 

उनले भने, "सायद मैले यिनै बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भए पनि, सदनबाट भए पनि, सरकारबाट भए पनि तपाईंहरुलाई न्याय दिलाउनेछु ।"

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर