इजरायल-हेजबुल्लाह भीषण युद्ध: नेपालीहरू सुरक्षित छन् ?
एजेन्सी । इजरायल–लेबनानको सीमा क्षेत्रमा युद्ध चर्किंदै गएपछि लेबनानमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर चासो बढेको छ । केही दिनयता इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाहबीच युद्ध जारी छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इजरायलको आक्रमणबाट लेबनानको दक्षिण भेगमा कम्तीमा ५ सय ५८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय जना घाइते भएका छन् । उक्त आक्रमणविरुद्ध इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलको उत्तरी भेगमा पनि आक्रमण बढाइरहेको छ ।
युद्धका कारण लेबनानको दक्षिणी भेगबाट हजारौं विस्थापित भएका छन् । इजरायल र हेजबुल्लाहबीच बढ्दो तनावका कारण लेबनानमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर चासो बढेको हो । इजिप्टस्थित नेपाली दूतावासका अनुसार लेबनानमा करिब ७ सय नेपाली छन् । तिनीहरूमध्ये अधिकांश घरेलु कामदार छन् भने बाँकी होटल र कारखानामा काम गर्छन् ।
नेपाली सेनाका अनुसार युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिसनअन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ शान्ति सैनिक तैनाथ रहेकामा नेपाली सेनाबाट मात्रै करिब ८ सय ५० जना छन् । लेबनानको मुख्य सहर बेरुतमा १५ वर्षदेखि कार्यरत अशोक थापाले इजरायल र हेजबुल्लाहबीच भइरहेको युद्धबाट पर्न सक्ने जोखिमबारे आफूहरू सचेत रहेको बताए ।
उनले नेपालीहरूबीच एकआपसमा समन्वय बढिरहेको बताए । ‘को कुन ठाउँमा छौं । सुरक्षित र असुरक्षित के छ भनेर सूचना आदानप्रदान गरिरहेका छौं । जबसम्म बेरुतको मुख्य सहरमा तनाव बढ्दैन तबसम्म हामी आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘हामीलाई कम्पनीले पनि तनाव लिनु पर्दैन भनेर आडभरोसा दिइरहेको छ ।’
प्रतिकृया दिनुहोस