• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

दक्षिण कोरियाली लेखक हान काङले जितिन् नोबेल साहित्य पुरस्कार 

एजेन्सी । मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छन् । 

स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।”

लघुकथा लेखक एवं उपन्यासकार हान उनको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित छन् । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उनको पहिलो उपन्यास हो । 

तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ । 

“धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो”, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारहरूसँग भनिन्, “हान काङले वास्तवमै तीव्र काव्यात्ममक गद्य लेख्नुहुन्छ जुन कोमल र निर्मम दुवै छ र कहिलेकाहीँ केही अतियथार्थवादी छ ।”

हानको सन् २०१४ को उपन्यास ‘ह्युमन एक्ट्स’ सन् १९८० मा दक्षिण कोरियाली सेनाद्वारा गरिएको नरसंहारबाट प्रेरित थियो र यो लोकतान्त्रिक विद्रोहबीच एक युवकको मृत्युको बारेमा छ । 

दुई वर्षपछि उनले ‘द ह्वाइट बुक’ प्रकाशित गर्नुभयो । उक्त पुस्तक जन्मेको केही घन्टापछि बितेकी उहाँकी जेठी बहिनीलाई समर्पित गरिएको छ । उक्त पुस्तकमा एकेडेमीले उहाँको ‘काव्यात्मक शैली’ बारे उल्लेख गरेको छ । 

एकेडेमीले हानको सन् २०१० को पुस्तक ‘द विन्ड ब्लोज, गो’ लाई ‘मित्रता र कलाकारिताको बारेमा जटिल उपन्यास भन्दै उपन्यासमा दुःख र परिवर्तनका लागि तीव्र चाहना प्रबल रूपमा उपस्थित छ’ भनी वर्णन गरेको छ । 

सन् २०१३ देखि सन् २०१७ सम्म पार्क गन–ह्येको राष्ट्रपति कालमा पार्कको सरकारको आलोचनाका लागि कालो सूचीमा राखिएका नौ हजारभन्दा बढी कलाकारमध्ये हान एक 
थिइन् । 

बिहीबारको हानको नोबेल पुरस्कार विजयले पुरस्कारको प्रतीक्षामा रहेकाहरूलाई आश्चर्यमा पारेको छ किनकि घोषणाअघिको अनुमानमा उनको नाम समावेश भएको थिएन । 

गत वर्ष यो पुरस्कार नर्वेली नाटककार जोन फोसेलाई दिइएको थियो । उनका नाटकहरू विश्वमा कुनै पनि समकालीन नाटककारका नाटकहरूमध्ये सबैभन्दा बढी मञ्चन गरिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर