• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

व्यापारीसँग पार्टी कार्यालय र जमिन बक्सिस लिने ओलीको निर्णयको कांग्रेसमा पनि विराेध

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालय भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले निर्माण गर्ने विषयको आलोचना सत्तासहयात्री कांग्रेसका नेताहरूले पनि गर्न थालेका छन् ।

एमालेको पार्टी कार्यालय निर्माणको विषयले प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी तथा समाजसेवी गुरुङको शाख गिरेको रूपमा सत्तारुढ कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिक्रिया दिएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य खतिवडाले एमाले केन्द्रीय कार्यालय निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आफूले एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणको विषयमा नलेखी बस्न नसकेको पनि खतिवडाले लेखेका छन् ।

'नेकपा (एमाले)को पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली र समाजसेवी मीनबहादुर गुरुङ दुवैको शाख उठेन । के हुँदैछ आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन,' खतिवडाले लेखेका छन् ।

बाढीपहिरोले जनता मारमा परेको बेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीलाई व्यापारीले अर्बौंको पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने विषय रहेको भन्दै खतिवडाले टिप्पणी गरेका हुन् । उनले ओली र गुरुङलाई प्रश्न गरेका छन्, 'यो समयमा विपत्ती पीडितलाई दुवै जनाले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो होला ?'

भाटभटेनीका सञ्चालक गुरुङले कीर्तिपुरमा एमालेका लागि पार्टी कार्यालय दान दिने भएका छन् । गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा दसैंको अघिल्लो दिन प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए ।

उक्त जग्गामा केन्द्रीय कार्यालय आफ्नै पैसाले बनाएर गुरुङले एमालेलाई दान दिने गरी काम अघि बढेको हो । एमाले केन्द्रीय कार्यालय २०८२ को दसैं अघि निर्माण सम्पन्न गरेर एमालेलाई हस्तान्तरण गरिने बताइएको छ ।

व्यापारीलाई पार्टी भवन बनाउन दिएर २८ लाख मतदाताको अपमान भयो : विन्दा पाण्डे
एमालेको कार्यालय व्यापारीलाई बनाउन दिने कुराको आलोचना भइरहेको छ । एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डले पार्टी कार्यकर्ता र मतदाताको अपमान हुने गरी केन्द्रीय कार्यालय व्यापारीबाट दानमा लिने निर्णय सच्याउन माग गरेकी छन् । यस प्रकरणमा सत्ता सहयोगी कांग्रेस नेताले पनि टिप्पणी गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर