• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

भ्रष्टाचारविरुद्धको अभियान राेकिदैनः प्रचण्ड

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अभियान नरोकिने बताए । उनले आफूले सरकारबाट सुरु गरेको यो अभियान अब पार्टीको तर्फबाट अघि बढाउने बताए ।

‘सुशासनको पक्ष र भ्रष्टाचारको बिरुद्धमा निकै ठूलो अभियान सुरु गरिएको छ’– उहाँले भन्नुभयो– ‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया सुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ ।’ 

भूमाफियाहरुले राज्यको जग्गा व्यक्तिका नाममा लैजाने र जनतालाई कंगाल बनाउने प्रवृत्ति धेरै पहिलेदेखि हुर्कदै आएको आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले त्यस्ता भूमाफियाले कब्जा गरेर व्यक्तिका नाममा लगेको जग्गा पुनः राज्यका नाममा फिर्ता गराउने र उनीहरुलाई मुद्दा चलाउने काम गरेको स्मरण गरे ।

उनले सामाजिक न्यायको पक्षमा देशभित्र र बिदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्नेदेखि हजारौं नागरिकताविहीनतालाई नागरिकता प्रदान गर्ने, वर्षौदेखिको मिटरब्याजको समस्या कानुन बनाएर नै अन्त्य गर्नेलगायतका कामले जनतामा नयाँ उत्साह पैदा भएको बताए । 

पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको र तेस्रोपटक प्रधानमन्त्री हुँदा भारतसँग दश वर्षमा दश हजार मेगावाट विद्युत बिक्रीलगायतका ऐतिहासिक समझदारीमा हस्ताक्षर गरेको बताए । 

चाँडै निर्माण सम्पन्न हुन थालेको मध्यपहाडी लोकमार्गले पहाडी क्षेत्रलाई नयाँ जीवन दिंदै राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कोशेढुंगा हुने बताए । उत्तरदक्षिण कोरिडोरले कर्णाली लगायतका विकट क्षेत्रलाई सुगम बनाउँदै लैजाने बताए ।

‘भारत र बंगलादेशसँग विद्युत व्यापारको सम्झौता क्रान्तिकारी कदम थियो’– उनले भने– ‘पहिलोपटक चीन भ्रमणका क्रममा पनि विद्युत व्यापारका लागि क्रसबोर्डर ट्रान्समिटर निर्माण गर्ने सहमति भयो । थुप्रै नाकाहरु खोल्ने सहमति भयो । तपाई कर्णालीबासी जनसमुदायलाई थाहै छ, ८ वटा परम्परागत नाकाहरु खोल्ने निर्णय पनि यसैबीचमा भयो । जुम्लाको नाथेलाग्नासम्म बाटो पुर्याउने सहमति पनि भएको छ, यो कणार्लीको विकासको लागि महत्वपूर्ण काम हो ।’

आफू चौथोपटक जुम्ला आएको उल्लेख गर्दै उनले खस भाषा र सिञ्जा सभ्यताको केन्द्रमा आएर बोल्दा गौरव महसुस भएको र यो सभ्यतालाई पुनर्स्थापित गर्नुपर्ने बताए ।  

कार्यक्रममा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ निर्वाचित वडा अध्यक्ष धनबहादुर कामीसहित झण्डै पाँच सय व्यक्ति विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर